११ आश्विन २०८३, आईतवार ०६:३४
कालिका–६, खोलेसिमल । जुटपानी गरिबी निवारण साना किसान कृषि सहकारी संस्था लिमिटेड, कालिका–६ खोलेसिमलको १९औँ वार्षिक साधारणसभा एवं सातौं अधिवेशन सम्पन्न भएको छ। साधारणसभामा ज्येष्ठ शेयर सदस्य, उत्कृष्ट कारोबार गर्ने समूह तथा व्यक्ति, शैक्षिक उपलब्धि हासिल गर्ने शेयर सदस्यका सन्तान र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको छ।
कार्यक्रममा कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले सहकारीले स्थानीय नागरिकको आर्थिक तथा सामाजिक अवस्था सुधारमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै सहकारीलाई थप व्यवस्थित, पारदर्शी र उत्पादनमुखी बनाउँदै लैजानुपर्नेमा जोड दिए।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष द्रोणाचार्य रेग्मीको विशेष उपस्थिति रहेको थियो। उहाँले संस्थाको विगतको उपलब्धि, वर्तमान अवस्था तथा आगामी योजनाबारे धारणा राख्दै सहकारीलाई सदस्यको आर्थिक समृद्धिसँग जोडेर अघि बढाउनुपर्ने बताए।
कार्यक्रममा उपाध्यक्ष चेतबहादुर थापाले स्वागत मन्तव्य राखेका थिए भने सचिव गुणराज दुवाडीले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए। कालिका–६ का वडाध्यक्ष टिकाराम रेग्मी, लेखा समिति संयोजक हरिप्रसाद भण्डारी, समाजसेवी केशव लामा तथा संस्थापक अध्यक्ष लक्ष्मीनारायण चौलागाईंलगायतको उपस्थिति रहेको थियो।
साधारणसभाका क्रममा ७० वर्षभन्दा माथिका ज्येष्ठ शेयर सदस्यलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा इश्वरीप्रसाद अधिकारी , बच्चुमाया थापा , इन्द्रबहादुर थापा ,धनकुमारी श्रेष्ठ ,बासुदेव अर्याल , लवकुमारी पोखरेल, ठुलीमाया घलान , रुद्रप्रसाद भट्ट , रत्नकुमारी श्रेष्ठ , चिजमाया कार्की , कान्छी मगर र ओमकुमारी सापकोटा रहेका छन्।
त्यस्तै, उत्कृष्ट कारोबार गर्ने कालिका–६ को प्रगतिशील समूह र कालिका–१ को मिलन बचत समूह तथा व्यक्तिगततर्फ धर्मराज श्रेष्ठ र छन्दप्रसाद लामिछानेलाई सम्मान गरिएको छ। कक्षा १२ विज्ञान संकायमा ३.४३ जीपीए प्राप्त गरी उत्तीर्ण भएका शेयर सदस्य नारायण सुवेदीका छोरा निर्जल सुवेदीलाई शैक्षिक उपलब्धिका लागि तथा संस्थाका कार्यालय सहायक सम्झना खनाल लामिछानेलाई उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरिएको छ।
साधारणसभा एवं अधिवेशनबाट खोमबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। उपाध्यक्षमा गुणराज दुवाडी, सचिवमा सुभेच्छा क्षेत्री र कोषाध्यक्षमा देवीमाया अम्गाई चयन भएका छन्। सदस्यहरूमा वेदप्रसाद भेटवाल, पार्वती अधिकारी, अम्बिका कुमारी थापा, ध्रुवराज आचार्य र रामप्रसाद देवकोटा रहेका छन्।
लेखा समिति संयोजकमा लक्ष्मीप्रसाद शर्मा तथा सदस्यमा प्रतिमा भट्ट र लक्ष्मी नेपाल चयन भएका छन्। निर्वाचन समिति संयोजक शीतलकाजी श्रेष्ठ, सदस्यहरू भीमप्रसाद लामिछाने, हरिकुमार गुरुङ, रामकृष्ण दुलाल र सदस्य–सचिव नारायण सुवेदी रहेको निर्वाचन समितिले नवनिर्वाचित अध्यक्ष खोमबहादुर गुरुङलाई माइन्युट हस्तान्तरण गरेको थियो।









प्रतिकृया दिनुहोस्