रत्ननगर । चितवनका विभिन्न आठ स्थानमा सञ्चालन गरिएको पाँचदिने निःशुल्क आँखा परीक्षण तथा उपचार शिविरबाट ३ हजार २८२ जना लाभान्वित भएका छन्। शिविरका क्रममा मोतियाविन्दु पहिचान भएका ३०३ जनाको शल्यक्रिया गरिएको छ भने १ हजार ६९० जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ।
आइक्याम्पफोर चितवन, सपोर्ट एण्ड केयर पुनर्स्थापना केन्द्र तथा नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पतालको संयुक्त आयोजनामा मङ्सिर १ गतेदेखि ५ गतेसम्म शिविर सञ्चालन भएको थियो ।
शिविरमा सर्वसाधारणको निःशुल्क आँखा परीक्षण, मोतियाविन्दुको शल्यक्रिया तथा आवश्यक औषधि र चस्मा वितरणलगायतका सेवा प्रदान गरिएको आयोजकले जनाएको छ।
रत्ननगर, माडी, भरतपुर, खैरहनी, कालिका र राप्ती नगरपालिका तथा इच्छाकामना गाउँपालिकाको सहकार्यमा शिविर सञ्चालन गरिएको थियो। त्यस्तै, क्लिनिक नेपाल मेघौली, थारू संग्रहालय माडी, शक्तिखोर स्वास्थ्य चौकी, सिद्धि स्वास्थ्य चौकी, कठार स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र स्याङ्दी तथा थाकलटार माध्यमिक विद्यालयलगायतका संस्थाले शिविर सञ्चालनमा सहयोग गरेका थिए।
आर्थिक तथा भौगोलिक कठिनाइका कारण आँखासम्बन्धी स्वास्थ्य सेवा लिनबाट वञ्चित नागरिकलाई सहज रूपमा गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ। विशेषगरी ज्येष्ठ नागरिक, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई लक्षित गरी सञ्चालन गरिएको शिविरले आँखासम्बन्धी समस्या समयमै पहिचान गर्न र दृष्टि गुम्ने जोखिम न्यूनीकरण गर्न सहयोग पुगेको आयोजकको विश्वास छ।
शिविर सफल बनाउन सहयोग गर्ने नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी, स्थानीय तह, विभिन्न संघसंस्था, सहयोगी दाता, स्वयंसेवक, मिडिया पार्टनर विप्स मिडिया तथा सञ्चारकर्मीप्रति आयोजकले आभार व्यक्त गरेको छ।
आगामी दिनमा पनि आर्थिक रूपमा कमजोर तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरी यस्ता सामाजिक तथा स्वास्थ्य सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने आयोजक संस्थाहरूले प्रतिबद्धता जनाएका छन्।










प्रतिकृया दिनुहोस्