काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ४७० जना सवारीसाधनका चालक कारबाहीमा परेका छन्। पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले चलाएको विशेष चेकिङ तथा अनुगमनका क्रममा उनीहरू कारबाहीमा परेका हुन्।
ट्राफिक प्रहरीले दिएको विवरण अनुसार पछिल्लो २४ घण्टाको अवधिमा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने (मापसे) ७० जना चालक कारबाहीमा परेका छन्। यसैगरी, ट्राफिक नियम उल्लंघन गरेको पाइएपछि सीसीटीभी क्यामेराको सहायताबाट ३९ जना र सडकमा ट्राफिक लाइट (रातोबत्ती) को बेवास्ता गर्ने २५ जना चालकलाई कारबाही गरिएको छ।
त्यस्तै, तोकिएको भन्दा अत्यधिक तीव्रगतिमा सवारीसाधन चलाउने ९१ जना, निषेध गरिएको क्षेत्रमा हर्न बजाउने ५ जना, अवस्था ठीक नभएका (फिटनेस नभएका) ६ जना र अन्य विभिन्न कसुरमा २३१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण गर्न र सडक अनुशासन कायम राख्न यस्ता चेकिङ तथा कारबाही अभियानलाई थप कडा पारिएको प्रहरीको भनाइ छ।










प्रतिकृया दिनुहोस्