चितवन । आन्तरिक राजस्व कार्यालयसम्म पुगेर लिनुपर्ने प्यान (स्थायी लेखा नम्बर) सम्बन्धी सेवा स्थानीय तहमै उपलब्ध हुन थालेपछि कालिका नगरपालिकाका नगरवासी तथा व्यवसायीलाई सहज भएको छ । नगरपालिकाले आन्तरिक राजस्व कार्यालय भरतपुरसँगको समन्वय र सम्झौतामा नगरपालिकाको कार्यालयबाटै प्यानसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।
नगरपालिकाले २०८२ माघ १ गतेदेखि सुरु गरेको उक्त सेवाअन्तर्गत आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिक मसान्तसम्म चार महिनाको अवधिमा कुल २३१ वटा सेवा प्रवाह गरेको छ ।
नगरपालिकाको प्रतिवेदनअनुसार उक्त अवधिमा संस्थागत स्थायी लेखा नम्बरसम्बन्धी ६, व्यावसायिक स्थायी लेखा नम्बरसम्बन्धी ७० र व्यक्तिगत स्थायी लेखा नम्बरसम्बन्धी ५९ वटा सेवा प्रदान गरिएको छ । त्यसैगरी, केवाईटी अद्यावधिकका २४, पीडीसीआर विवरण सच्याउने २६ तथा स्थायी लेखा नम्बर (प्यान) बन्द गर्ने ३९ वटा सेवा प्रवाह भएका छन् ।
नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा समेत प्यानसम्बन्धी विभिन्न शीर्षकमा १८१ वटा सेवा प्रदान गरेको जनाएको छ । स्थानीय स्तरबाटै सेवा प्रवाह हुन थालेपछि सेवाग्राहीको आकर्षण बढ्दै गएको र नगरपालिकाबाटै करसम्बन्धी आधारभूत सेवा लिन सकिने अवस्था बनेको छ ।
प्यानसम्बन्धी सेवा लिन आन्तरिक राजस्व कार्यालय भरतपुरसम्म पुग्नुपर्ने बाध्यता अन्त्य गर्दै नागरिक, व्यवसायी तथा संघसंस्थालाई आफ्नै स्थानीय तहबाट सहज, सरल र सुलभ सेवा उपलब्ध गराउने उद्देश्यले यो व्यवस्था सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
स्थानीय तहमै सेवा उपलब्ध हुँदा सेवाग्राहीको समय र यातायात खर्च बचत हुनुका साथै करसम्बन्धी कामका लागि टाढा जानुपर्ने झन्झटसमेत कम भएको छ । यसले स्थानीय सरकारबाटै नागरिकलाई आवश्यक प्रशासनिक तथा करसम्बन्धी सेवा उपलब्ध गराउने अभ्यासलाई थप प्रभावकारी बनाएको छ ।










प्रतिकृया दिनुहोस्