कालिका । कालिका नगरपालिका वडा नं–६, खोलेसिमलस्थित सुरक्षित बचत तथा ऋण सहकारी संस्थाले एक वर्षमा ४ करोड बढी मुनाफा गर्न सफल भएको छ । शनिबार सम्पन्न संस्थाको १९औँ वार्षिक साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा आर्थिक वर्ष २०८२÷०८३ मा ४ करोड १ लाख मुनाफा भएको उल्लेख गरिएको छ ।
१० करोड ९५ लाख ६० हजार ८४१ आम्दानी गरेको सो संस्थाले ६ करोड ९४ लाख ५३ हजार ९१४ रूपैयाँ खर्च कटाएर ४ करोड १ लाख ६ हजार ९२७ रूपैयाँ मुनाफा गरेको हो । उक्त मुनाफा आयकरअघिको हो । आयकर, कर्मचारी बोनस कटाएर भने ३ करोड ४३ लाख १ हजार ७२९ रूपैयाँ मुनाफा भएको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।
४ हजार ८८५ सेयर सदस्य रहेको सो संस्थाको सेयर पुँजी १० करोड ७ लाख ५ हजार ४०० रहेको छ । १ अर्ब ३ करोड ३० लाख ३४ हजार ८६६ कुल सम्पत्ति तथा दायित्व रहेको सो संस्थाको कुल निक्षेप सङ्कलल ६६ करोड ४३ लाख ६० हजार ९८३, ऋण लगानी ७४ करोड ६३ लाख ८७ हजार ७३२, संस्थाको स्थिर सम्पत्ति १ करोड ५ लाख ७५ हजार १६, जगेडा कोषमा १५ करोड ४० लाख ७९ हजार ९९९, प्राथमिक पुँजीकोष ३७ दशमलब ७४ प्रतिशत रहेको छ । कुल पुँजीकोष ४० दशमलब १० प्रतिशत रहेको छ ।
संस्थाका अध्यक्ष लालुप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रम कालिकाका मेयर विनोद रेग्मीले उद्घाटन गरेका थिए । सो अवसरमा मेयर रेग्मीले सुरक्षित सहकारीले स्थानीयस्तरमा आर्थिक विकास र सशक्तीकरणमा भूमिका खेलेको बताए । संस्थाका अध्यक्ष दाहालले नीति, विधि र प्रविधिलाई आत्मसात् गर्दै सेयर सदस्यहरुको हितमा काम गर्दा सुरक्षित बागमती प्रदेशमै उत्कृष्ट हुन सफल भएको बताए ।
संस्थाका उपाध्यक्ष टंकबहादुर थापाले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष दाहालले भावी योजना, सचिवको अनुपस्थितिमा सञ्चालक सदस्य रामकृष्ण लम्सालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष विद्याधर बाँस्तोलाले आर्थिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिका संयोजक होमप्रसाद भट्टले आन्तरिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत तथा प्रमुख कार्यकारी अधिकृत रामचन्द्र पाठकले बजेट प्रस्तुत गरेका थिए ।
कार्यक्रममा ६ जना ज्येष्ठ सेयर सदस्य, १९ जना उत्कृष्ट कारोबारीलाई पुरस्कृत गरिएको थियो । संस्थामा कार्यरत कर्मचारी रज्मी बाँस्तोलालाई दशक सेवा पदक र सुमन महतोलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको थियो । सुरक्षित साकोसलाई बागमती प्रदेशमै उत्कृष्ट बनाउन भूमिका खेलेको भन्दै संस्थाका सम्पूर्ण कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा वडाध्यक्षहरु लक्ष्मण पौडेल, टीकाराम रेग्मी, संस्थाका सल्लाहकारहरु केशव लामा, सविता लामा, संस्थाका पूर्वअध्यक्षहरु द्रोणप्रसाद लामिछाने, शीतलकाजी श्रेष्ठ, श्यामन्तकमणि लामिछाने, सेयर सदस्यहरु रीता भट्ट पाठक, हरिप्रसाद भण्डारीलगायतले मन्तव्य राखेका थिए । २०६५ सालमा स्थापना भएको सो सहकारीले कालिकाको पदमपुर, रत्ननगरको टाँडी र भरतपुरमा सदस्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।








प्रतिकृया दिनुहोस्