चितवन : चाडपर्वलाई लक्षित गरी चितवनमा सयपत्री फूलखेती गर्ने किसानको संख्या र खेतीको क्षेत्रफल उल्लेख्य रूपमा बढेको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष जिल्लामा सयपत्री फूलखेतीको क्षेत्रफल दोब्बरभन्दा बढीले विस्तार भएको हो ।
कृषि विकास कार्यालय चितवनका अनुसार गत आर्थिक वर्षमा २१ दशमलव ९२ हेक्टर क्षेत्रफलमा सयपत्री खेती गरिएकोमा चालु आर्थिक वर्षमा बढेर ४४ हेक्टर पुगेको छ ।
कार्यालयकी बागवानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार चाडपर्वलाई लक्षित गर्दै जिल्लामा हरेक वर्ष सयपत्री फूलखेतीको क्षेत्रफल विस्तार हुँदै गएको छ । यस वर्ष किसानले टिनिस–१, थाई टिनिस, टिनिस–२, सुमति र कर्मा ५५५ जातका सयपत्रीका बिरुवा रोपेका छन् ।
गत वर्ष जिल्लामा १३१ दशमलव ४ मेट्रिकटन सयपत्री फूल उत्पादन भएको थियो । चितवनका सातवटै स्थानीय तहमा व्यावसायिक रूपमा चाडपर्व लक्षित फूलखेती हुँदै आएको छ । तीमध्ये भरतपुर महानगरपालिकामा सबैभन्दा बढी सयपत्री खेती हुने गरेको चौहानले जानकारी दिइन् ।
थोरै क्षेत्रफलमा समेत राम्रो उत्पादन लिन सकिने भएकाले किसान सयपत्री फूलखेतीतर्फ आकर्षित भएको चौहानको भनाइ छ । पछिल्लो समय सरकारले नेपालमा उत्पादित वस्तुको प्रवर्द्धन र आयातमा कडाइ गर्न थालेपछि स्वदेशमै फूल उत्पादन गर्ने किसानको आकर्षण थप बढेको उनले बताइन् ।
चितवनमा हरेक वर्ष भारतबाट समेत सयपत्री फूल आयात हुँदै आएको छ । तर, स्वदेशी उत्पादनको माग बढ्दै गएपछि आयात घटाउन सकिने सम्भावनाले किसानलाई फूलखेतीतर्फ थप उत्साहित बनाएको चौहानले बताइन् ।
“गत वर्ष सयपत्रीले पाएको मूल्य र बजारमा देखिएको अभावका कारण यस वर्ष किसानको आकर्षण बढेको हो,” उनले भनिन् । उनका अनुसार पछिल्लो समय नेपाली उत्पादनको सयपत्री फूलप्रतिको मागसमेत बढ्दै गएको छ । रासस








प्रतिकृया दिनुहोस्