कालिका । कालिका नगरपालिका–६ मा महिलाको सुधारिएको जीविकोपार्जन तथा आर्थिक अवसर परियोजना अन्तर्गत रुपान्तरणकारी सामाजिक परिचालन तालिम सम्पन्न भएको छ। नेपाल दलित महिला उत्थान संघ (एड्वान) को आयोजना, करुणा ट्रष्टको प्राविधिक सहयोग तथा कालिका नगरपालिकाको समन्वयमा तालिम सञ्चालन गरिएको हो।
तालिममा महिलाको आर्थिक सशक्तीकरण, सीप विकास, आयआर्जन, बचत व्यवस्थापन तथा सामाजिक रूपान्तरणका विषयमा प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मी, नगर उपप्रमुख विमला तामाङ, वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण पौडेल, वडा नं. ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, सूचना अधिकारी तथा सहकारी शाखा प्रमुख प्रकाशचन्द्र पौडेल, प्रशिक्षक सोनालाल चौधरी, परिचालिका कमला पन्थी लगायत महिला समूहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा वेलप्रसाद महिला समूहकी विनिता कुमालले स्वागत मन्तव्य व्यक्त गर्दै महिलाहरूलाई आत्मनिर्भर र आर्थिक रूपमा सक्षम बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताइन्। उनले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा रूपान्तरण गर्नुपर्नेमा बताईन ।
तालिमबाट प्राप्त सिकाइ अनुभव प्रस्तुत गर्दै वेलपत्र महिला समूहकी सोभा कुमाल ले सामाजिक परिचालन, समूह व्यवस्थापन र आर्थिक क्रियाकलापबारे व्यवहारिक ज्ञान हासिल भएको बताइन्। नमुना महिला समूहकी पुनम श्रेष्ठ ले तालिमले महिलाहरूमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै आर्थिक गतिविधिमा सक्रिय बन्न प्रेरित गरेको बताईन ।
प्रशिक्षक सोनालाल चौधरी ले सीप विकासलाई प्रमाणपत्रमा सीमित नराखी उत्पादन र उद्यमसँग जोड्नुपर्ने बताए। “सीपले जीवन परिवर्तन गर्नुपर्छ, त्यसका लागि व्यवहारिक प्रयोग आवश्यक छ,” उनले भने।
सूचना अधिकारी तथा सहकारी शाखा प्रमुख प्रकाशचन्द्र पौडेल ले व्यक्तिको क्षमता र आवश्यकता अनुसारको सीप विकासमा जोड दिनुपर्ने बताए। आयआर्जनसँगै बचत संस्कृतिको विकास गर्न सके आर्थिक अवस्थामा सुधार ल्याउन सकिने उनको भनाइ थियो।
नगर प्रमुख विनोद रेग्मी ले महिलाहरूलाई आयआर्जनमुखी कार्यमा जोडिन आग्रह गर्दै नगरपालिकाले मागमा आधारित कार्यक्रम तथा बजेट व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताए। “आर्थिक अवस्था कमजोर भएकै कारण कोही पनि शिक्षाबाट वञ्चित हुनु हुँदैन, शिक्षाको जिम्मेवारी नगरपालिकाले लिन्छ,” उनले बताउदै आफ्नो टोल गाउमा त्यस्तो भएरमा खवर गर्न समेत अनुरोध गरेका छन । उनले आगामि वजेटमा महिलाहरु लागि थप वजेट व्यवस्थापन हुने समेत प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
कार्यक्रममा सहभागी दुई महिला समूहले तालिमबाट प्राप्त सिकाइ उपलब्धिबारे अनुभव प्रस्तुत गरेका थिए। सहभागीहरूले तालिमले महिलाहरूको क्षमता अभिवृद्धि, आर्थिक सशक्तीकरण तथा सामाजिक रूपान्तरणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रमका सभाध्यक्ष उजेली कुमाल ले यस्ता तालिमले महिलाहरूमा आत्मविश्वास वृद्धि हुनुका साथै नेतृत्व क्षमता, आर्थिक चेतना र सामाजिक सहभागिता विस्तार गर्न सहयोग पुग्ने बताइन्। उनले तालिमबाट सिकेका ज्ञान र अनुभवलाई समुदायस्तरमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरिन्।
कार्यक्रममा नगर उपप्रमुख विमला तामाङ, वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण पौडेल र वडा नं. ६ का वडा अध्यक्ष टिकाराम रेग्मी को समेत सहभागिता रहेको थियो।







प्रतिकृया दिनुहोस्