चितवन । लायन्स क्लब अफ चितवन राइजको अध्यक्षमा डा. रमेश घिमिरे सर्वसम्मत चयन भएका छन् । आइतबार दियालो फुडल्याण्ड क्षेत्रपुरमा सम्पन्न अधिवेशनले डा. घिमिरेको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।
लायन वर्ष सन् २०२६/२७ लागि गठित समितिको प्रथम उपाध्यक्षमा यमबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा कमल घिमिरे, सचिवमा अश्विन गोले, कोषाध्यक्षमा ईश्वरकुमार श्रेष्ठ र सदस्यहरूमा अर्जुन अर्याल र भरतप्रसाद अधिकारी रहेका छन् ।
क्लबका अध्यक्ष शिरिष पन्तको अध्यक्षतामा भएको अधिवेशनका अवसरमा क्लबका पूर्व अध्यक्ष तिलक रिमाल, सूर्यमान श्रेष्ठ लगायतको उपस्थिति थियो । सो अवसरमा अध्यक्ष पन्तले आफ्नो कार्यकालमा सामाजिक क्षेत्रमा सक्दो सेवा गरेको भन्दै आगामी दिनमा सेवाका कार्यहरूलाई अझै प्रभावकारी ढङ्गले अगाडि बढाउनु पर्ने बताए । उनले आफ्नो कार्यकालमा इन्टर लायन्स ब्याडमिन्टन च्याम्पियनसिप प्रतियोगिता, वृहत रक्तदान कार्यक्रम, भरतपुर र माडीका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको जानकारी दिए ।
यसैगरी विद्यार्थीहरूलाई मानसिक स्वास्थ्य सचेतना कार्यक्रम, देवघाटमा रहेको गार्गी कन्या गुरुकुलका कन्याहरूलाई भोजन जस्ता सामाजिक कार्य गरेको उनले चर्चा गरे । भरतपुरको विशाल चोकमा जेष्ठनागरिक चौपारीमा शुद्ध खानेपानीको व्यवस्थापन छिट्टै गर्न लागिएको सो अवसरमा उनले जानकारी दिए ।
नवनिर्वाचित अध्यक्ष डा. घिमिरेले लायन्सको माध्यमबाट सेवा गर्ने अवसर मिलेको भन्दै क्लबको नीतिभित्र रहेर सक्दो काम गर्ने प्रतिबद्धता व्यक्त गरे। क्लबका सदस्यहरूको सङ्ख्या वृद्धि गर्दै लगिने बताउँदै उनले सबै मिलेर सेवामा जुट्न सबैलाई आव्हान गरे।
अध्यक्ष डा. घिमिरेले आगामी जुलाई १ तारिखबाट आफ्नो जिम्मेवारी सम्हाल्ने छन्। उनी मौलाकालिका अस्पताल भरतपुरको निर्देशक र बरिष्ठ रेडियोलोजिस्ट हुन्। लायन्स विश्वमा समाजसेवाका क्षेत्रमा सबैभन्दा ठूलो सञ्जाल भएको संस्था हो ।





प्रतिकृया दिनुहोस्