टेक्सस – पोर्चुगलका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले जारी विश्वकप आफ्नो खेल जीवनकै अन्तिम विश्वकप हुने घोषणा गरेका छन् । सोमबार टेक्ससको आर्लिङटनमा स्पेनविरुद्ध हुने फिफा विश्वकप २०२६ को अन्तिम १६ को रोमाञ्चक भिडन्तअघि पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो पुष्टि गरेका हुन् ।
४१ वर्षीय रोनाल्डोले सन् २००६, २०१०, २०१४, २०१८, २०२२ र जारी २०२६ गरी लगातार ६ वटा विश्वकप खेल्ने कीर्तिमान बनाइसकेका छन् । यसै संस्करणको समूह चरणमा उज्वेकिस्तानविरुद्ध गोल गर्दै उनी ६ वटा फरक विश्वकपमा गोल गर्ने विश्वकै पहिलो खेलाडी समेत बनेका थिए । रोचक कुरा त के छ भने, आगामी २०३० को विश्वकप रोनाल्डोकै देश पोर्चुगल, स्पेन र मोरक्कोले संयुक्त रूपमा आयोजना गर्दैछन् ।
खेल अगाडिको पत्रकार सम्मेलनको अन्त्यतिर रोनाल्डोले भने, “अहिलेको समय भनेको सकेसम्म खेलको आनन्द लिने हो । यो मेरो अन्तिम विश्वकप हुनेछ, तर आशा गरौँ भोलिको खेल नै मेरो अन्तिम खेल हुने छैन ।”अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने दिन टाढा नरहेको संकेत गर्दै उनले थपे, “त्यो दिन पनि आउनेछ । तर म इमानदार हुन चाहन्छु, भोलि जेसुकै नतिजा आए पनि क्रिस्टियानोले १०० प्रतिशत होइन, १००० प्रतिशत सफा मन लिएर मैदान छाड्नेछ । किनभने मैले फुटबलका लागि आफ्नो सबैथोक दिएको छु । मलाई अब कुनै कुराको लोभ छैन, मेरो जीवन राम्रो छ, यो त केवल खेलप्रतिको लगाव हो । म फुटबललाई माया गर्ने भएकाले खेल्छु ।” उनले जारी विश्वकपमा आफूले तीन गोल गरिसकेको स्मरण गराउँदै ठट्टाको शैलीमा आफ्नो प्रदर्शन अझै पनि खराब नरहेको बताए ।रोनाल्डोले समूह चरणमा उज्वेकिस्तानविरुद्ध दुई गोल गरेका थिए भने अन्तिम ३२ को खेलमा क्रोएसियाविरुद्ध पेनाल्टीमार्फत गोल गरेका थिए । यो विश्वकपको नकआउट चरणमा उनको पहिलो गोल समेत थियो ।
पोर्चुगललाई सन् २०१६ को युरोपेली च्याम्पियनसिप (युरो कप) को उपाधि दिलाएका रोनाल्डोले आफ्नो खेल जीवनको सफलताका लागि विश्वकप जित्नैपर्ने दबाब नरहेको स्पष्ट पारे । “मैले विश्वकप जितेर क्रिस्टियानो बढी वा कम हुने होइन । हामीसँग उपाधि जित्ने क्षमता छ, तर प्रतियोगिता केवल एउटा देशले मात्र जित्छ,” उनले भने ।
पत्रकार सम्मेलनका क्रममा रोनाल्डोले स्पेनका १८ वर्षीय उदीयमान स्टार लामिन यामलको प्रशंसा गर्दै उनको भविष्य उज्ज्वल रहेको बताए । तर आफूले स्पेनलाई एक व्यक्तिका रूपमा भन्दा पनि एउटा बलियो टोलीका रूपमा हेरेको उनको भनाइ थियो।







प्रतिकृया दिनुहोस्