चितवन । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा कालिका नगरपालिकाले राष्ट्रिय शोक दिवस तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।
कालिका नगरपालिका तथा स्थानीय विपद् व्यवस्थापन समितिको आयोजनामा सोमबार साँझ नगरपालिका कार्यालय परिसरमा कार्यक्रम गरिएको हो। कार्यक्रममा बाढी तथा विपद्का कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको थियो।
कार्यक्रममा बोल्दै कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीले प्राकृतिक विपद्का कारण भएको मानवीय क्षतिले आफूहरूलाई अत्यन्तै दुःखी बनाएको बताए। उनले विपद्मा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरे।
नगर प्रमुख रेग्मीले विपद् जुनसुकै बेला र जुनसुकै स्वरूपमा आउन सक्ने भएकाले विपद् न्यूनीकरण, पूर्वतयारी र उद्धारका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिए। उनले विपद्को समयमा स्थानीय तह, नागरिक तथा सम्बन्धित निकायबीचको समन्वय अझ प्रभावकारी बनाउनुपर्ने बताए।
कार्यक्रममा उपप्रमुख विमला तामाङ, जनप्रतिनिधिहरू कर्मचारी शिक्षक विद्यार्थी संस्थापक नगरप्रमुख खुमनारायण श्रेष्ठ, रास्वपा नगर सभापति हिरामणि पोखरेल, नेपाली कांग्रेस नगर सभापति दीपेश्वर केसी, एमाले नगर अध्यक्ष केशव लामा, नेकपाका राजेन्द्र ढुंगानालगायत विद्यालय, सहकारी तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।








प्रतिकृया दिनुहोस्