६ चैत्र २०८२, शुक्रबार ०६:२६
रत्ननगर— युवा नेतृत्व तथा व्यक्तित्व विकासमा सक्रिय सामाजिक संस्था रत्ननगर जेसीजले यस वर्ष पनि ‘सामूहिक ब्रतबन्ध’ कार्यक्रम आयोजना गर्ने भएको छ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत जेसीजले यही चैत १३ गते कार्यक्रम सञ्चालन गरिने जानकारी दिएको हो।
रत्ननगर जेसीज वर्ष २०२६ का अध्यक्ष सविन मानन्धरका अनुसार सन् १९९९ मा स्थापना भएको संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत परम्परा तथा संस्कारको संरक्षण गर्ने उद्देश्यले हरेक वर्षजस्तै यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिएको हो।
कार्यक्रम संयोजक सचितराज जोशीका अनुसार हालसम्म ११ जना बटुकले नाम दर्ता गराइसकेका छन् भने दर्ताको अन्तिम मिति चैत १० गतेसम्म तोकिएको छ। कार्यक्रमका लागि ५ हजार ९ सय ९९ रुपैयाँ शुल्क निर्धारण गरिएको छ, जसअन्तर्गत बटुकलाई आवश्यक सम्पूर्ण सामग्री निःशुल्क उपलब्ध गराइनेछ।
साथै, सहभागी बटुकका १० देखि १५ जना पाहुनाका लागि निःशुल्क भोजन तथा प्रसादको व्यवस्था गरिने आयोजकले जनाएको छ।
रत्ननगर जेसीज र रत्ननगर जुनियर जेसीजको संयुक्त आयोजनामा हुने यस कार्यक्रमले ब्रतबन्ध जस्तो खर्चिलो संस्कारलाई मितव्ययी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। ब्रतबन्धसँगै सामूहिक रूपमा ‘मित’ लगाउने कार्यक्रमसमेत समावेश गरिनेछ।
कार्यक्रमलाई सफल बनाउन विभिन्न व्यक्ति तथा संघसंस्थाहरूको सहयोग रहने आयोजकको भनाइ छ। पत्रकार सम्मेलनमा पूर्वअध्यक्षहरू अमित कुमार गुप्ता, नरहरी पुरी, रत्ननगर जुनियर जेसीजका पूर्वअध्यक्ष सन्दर्भ खनाल तथा वर्तमान अध्यक्ष सगुन रेग्मी लगायतको उपस्थिति रहेको थियो।





प्रतिकृया दिनुहोस्