१८ आश्विन २०८३, आईतवार ०६:३६
चितवन । कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीले चतुर्मुखी सामुदायिक वनलाई वन अध्ययन तथा पर्यापर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ।
कालिका नगरपालिका–१, गडुवास्थित चतुर्मुखी सामुदायिक वन उपभोक्ता समूहको १२ औँ वार्षिक साधारण सभालाई शनिबार सम्बोधन गर्दै नगर प्रमुख रेग्मीले वन संरक्षणसँगै पर्यापर्यटन प्रवर्द्धन र फोहोरमैला व्यवस्थापनमा स्थानीय तह तथा सामुदायिक वनबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले उदयपुर, भीमवली, थाङखोला तथा चतुर्मुखी क्षेत्रमा फोहोरमैला व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गर्नुभयो।
त्यस्तै कालिका नगरपालिका १ मा अवस्थित खुकुरी चोकमा रहेको चतुर्मुखी सामुदायिक वनले सञ्चालनमा ल्याएको सामूहिक सिलाई केन्द्रको पनि उद्घाटन समेत गर्नुभएको थियो

डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यले पालिका र सामुदायिक वनबीच पर्याप्त अन्तरक्रिया तथा समन्वय हुन नसक्दा विभिन्न समस्या देखिएको बताउँदै नियमित संवाद र सहकार्यबाट त्यस्ता समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले चतुर्मुखी सामुदायिक वनलाई पर्यापर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै खगेडी खोला संरक्षणमा विशेष ध्यान दिन आग्रह गर्नुभयो। चितवनको ऐतिहासिक महत्व बोकेको यस क्षेत्रलाई अध्ययन तथा अवलोकनको केन्द्रका रूपमा विकास गर्न सकिने उहाँको भनाइ थियो।
आचार्यले सामुदायिक वनलाई ‘खुला विश्वविद्यालय’का रूपमा विकास गर्न सकिने बताउँदै रात्रीकालीन जिप सफारी सञ्चालन, मौवा, पलास र चिउरीलगायतका वनस्पतिको संरक्षण तथा सालक संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो। साथै, सामुदायिक वनको संरक्षण तथा व्यवस्थापनमा युवाको भूमिका सुनिश्चित गर्नुपर्ने उहाँले बताउनुभयो। उहाँका अनुसार आगामी मंसिर १ र २ गते राप्ती नदीको प्रवर्द्धन तथा संरक्षणका विषयमा देशभरिका नदी संरक्षणकर्मीलाई सहभागी गराई कार्यक्रम आयोजना गरिने तयारी रहेको समेत बताए ।
कालिका नगरपालिका–१ का वडाध्यक्ष सन्तवीर स्याङ्गदानले वन संरक्षणसँगै फोहोरमैला व्यवस्थापनका लागि निश्चित स्थान तोक्नुपर्ने बताउनुभयो। उहाँले सामुदायिक वन क्षेत्रको संरक्षण र व्यवस्थापनमा स्थानीय तह, वन उपभोक्ता तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
चतुर्मुखी सामुदायिक वन उपभोक्ता समूहको १२औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको हो। सभामा समूहका उपाध्यक्ष निरञ्जनकर जोशीले स्वागत मन्तव्य राख्नुभएको थियो भने लेखा समिति सदस्य रुपेन्द्र स्याङदानले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। समूहका अध्यक्ष हरिकुमार गुरुङले वार्षिक प्रतिवेदनसँगै आगामी नीति तथा योजनाबारे जानकारी गराउनुभएको थियो।
त्यस्तै विशिष्ट अतिथिमा जुटपानी गरिबी निवारण कृषि सहकारी संस्थाका अध्यक्ष एवं चतुर्मुखी सामुदायिक वन समितिका सल्लाहकार खोम गुरुङ लालीगुराँस टोल विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद घिमिरे लगायतले मन्तव्य राख्नुभएको थियो।
साधारण सभाका अवसरमा सामुदायिक वनमा कार्यरत कर्मचारीलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा कार्यालय सचिव बुद्धि वोम्जन तामाङ, वन हेरालु फथ नारायण श्रेष्ठ र पर्यापर्यटन सहजकर्ता सरोज खनाल रहनुभएको छ।
त्यस्तै, एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने सामुदायिक विद्यालयका एक छात्र र एक छात्रालाई नगद १ हजार ५ सय रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो। सम्मानित हुनेमा पञ्चकन्या माध्यमिक विद्यालय, छात्र निया पाख्रिन र सामिपुर माध्यमिक विद्यालयकी छात्रा पुष्पा लामालाई सम्मान गरेको छ ।

समूहका अनुसार चतुर्मुखी सामुदायिक वन उपभोक्ता समूहमा हाल ४०६ घरधुरी आबद्ध छन् भने ५१ जनाको सदस्यता खारेज गरिएको छ। साधारण सभामा डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्य, कालिका नगरपालिका–१ का वडाध्यक्ष सन्तवीर स्याङदान, एनटीएनसी सौराहाका प्रतिनिधि ऋषि सुवेदी, कालिका नगरपालिकाकी कार्यपालिका सदस्य सरस्वती खत्री थिङ, पञ्चकन्या सामुदायिक वन समितिका अध्यक्ष गोविन्द सिङतान, लालिगुराँस टोल विकास समितिका अध्यक्ष कृष्णप्रसाद घिमिरे तल्लो खानेपानी संस्थाका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ लगायतको उपस्थिति थियो।










प्रतिकृया दिनुहोस्