काठमाडौँ– देशभर हाल मनसुनी वायुको प्रभाव कायम छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतर्फ सरेको छ।
यतिबेला देशका अधिकांश भू-भागमा सामान्यतया बदली भएको छ।
कोशी र बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ।
गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा दर्ता भएको छ।
सोमबार दिनभर देशभरको मौसम साधारणतया बदली रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्छ।
देशका पहाडी क्षेत्रका केही स्थानमा पनि मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
तराईतर्फ बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको अनुमान छ।
मधेस र कोशी प्रदेशका तराई भेगका थोरै ठाउँमा चट्याङसहित वर्षा हुनेछ।
कोशी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको जोखिम छ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका थोरै स्थानमा समेत भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।








प्रतिकृया दिनुहोस्