नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन शनिबार नयाँ दिल्ली घोषणापत्र जारी गरिएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै पनि सदस्य राष्ट्रले आपत्ति नजनाएको बताउँदै घोषणापत्र सर्वसम्मतिले पारित भएको जानकारी दिएका हुन्।
शिखर सम्मेलनको पहिलो दिन जारी घोषणापत्रमा सन् २०२५ अप्रिल २२ मा भएको पहलगाम आतंकवादी आक्रमणको कडा शब्दमा निन्दा गर्दै उक्त घटनामा २६ जनाको मृत्यु भएको उल्लेख गरिएको छ।
ब्रिक्स राष्ट्रहरूले आतंकवादका सबै रूप, स्वरूप र कारणहरूको निन्दा गर्दै आतंकवादलाई कुनै पनि धर्म, राष्ट्रियता वा समुदायसँग जोड्ने कुराको स्पष्ट विरोध गरेका छन्।
सीमापार आतंकवाद, यसको वित्तीय व्यवस्थापन र आतंकवादीहरूलाई आश्रय दिनेहरूविरुद्ध संयुक्त कारबाहीमा जोड दिँदै आतंकवादी र आतंकवादी सङ्गठनहरूविरुद्ध सामूहिक कारबाहीका लागि आह्वान गरिएको छ। साथै, संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आतंकवादसम्बन्धी प्रस्तावित सन्धि चाँडै अपनाउन माग गरिएको छ।
घोषणापत्रमा पारस्परिक सम्मान, सार्वभौम समानता, एकता र सहमतिमा आधारित निर्णयहरू लिने ब्रिक्सका मूल सिद्धान्तहरूलाई बलियो बनाइने उल्लेख छ। एकपक्षीय भन्सार शुल्क र व्यापार प्रतिबन्धहरूबारे चिन्ता व्यक्त गर्दै त्यस्ता कदमहरू विश्व व्यापार संगठनका नियमअनुसार हुनुपर्नेमा जोड दिइएको छ।
आणविक हतियार प्रयोगको खतरा र बढ्दो विश्वव्यापी तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै ब्रिक्स देशहरूले भारतको अध्यक्षतामा आयोजित ‘ब्रिक्स प्लस’ र ‘आउटरिच संवाद’को प्रशंसा गरेका छन्। यो सम्मेलन आज पनि जारी रहनेछ।
प्रारम्भमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षर मिलाएर ‘ब्रिक्स’ नामाकरण गरिएको थियो। सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले पहिलोपटक ‘ब्रिक’ शब्दको प्रयोग गरेका थिए भने सन् २०१० मा दक्षिण अफ्रिका जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको हो।
हाल यस समूहमा ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स गरी ११ वटा देश पूर्ण सदस्यका रूपमा रहेका छन्।








प्रतिकृया दिनुहोस्