चितवन, कालिका — भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले चितवनको कालिका नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
नगर प्रमुख विनोद रेग्मीको अध्यक्षतामा बसेको नगरस्तरीय विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको साथमा उभिने निर्णय गर्दै उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।
बैठकको निर्णयअनुसार नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकबाट २६ लाख रुपैयाँ र नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट ९ लाख रुपैयाँ गरी कुल ३५ लाख रुपैयाँ राहत कोषमा जम्मा गरिनेछ।
विपद् प्रभावित नागरिकको पीडालाई आफ्नै पीडा सम्झँदै नगरका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरूले आफ्नो सेवा–सुविधा तथा पारिश्रमिकको अंश कट्टा गरी २६ लाख रुपैयाँ योगदान गर्ने भएका हुन्। यसले विपद्को समयमा स्थानीय सरकारका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरू पनि नागरिकको दुःखमा प्रत्यक्ष रूपमा जोडिएर सहयोग गर्न तयार छन् भन्ने मानवीय सन्देश दिएको छ।
नगरपालिकाले विपद्को समयमा सरकारी स्रोत र संयन्त्रको परिचालनसँगै आपसी सहयोग, सहकार्य र मानवीय संवेदना अझ महत्वपूर्ण हुने जनाएको छ। संकटको घडीमा पीडित नागरिकलाई एक्लो महसुस हुन नदिन सबै पक्ष आफ्नो ठाउँबाट अघि बढ्नुपर्ने नगरपालिकाको भनाइ छ।
त्यसैगरी, नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट ९ लाख रुपैयाँ विनियोजन गरिनेछ। जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा नगरपालिकाको विपद् कोषबाट जुट्ने सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पठाइने नगरपालिकाले जनाएको छ।
नगरपालिका उपप्रमुख बिमला तामाङले भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत तथा सहयोग पुर्याउन नगरपालिकाको सम्पूर्ण संयन्त्र एकजुट भएर अघि बढिरहेको बताउनुभयो।
उहाँले विपद्को समयमा पीडित नागरिकको दुःखमा साथ दिनु सरकारको जिम्मेवारीसँगै समाजको साझा दायित्वसमेत भएको बताउनुभयो।
“विपद् प्रभावित नागरिकलाई तत्काल राहत पुर्याउन सम्पूर्ण नगर परिवार एकाकार भएर लागेको छ। हामीले गरेको सहयोग रकमभन्दा ठूलो कुरा पीडित नागरिकको दुःखमा स्थानीय सरकार उनीहरूको साथमा छ भन्ने भरोसा दिलाउनु हो।” उपप्रमुख तामाङले भन्नुभयो।
उहाँले विपद्को घडीमा सहयोगको मात्रा भन्दा सहयोग गर्ने भावना महत्वपूर्ण हुने बताउँदै सक्ने सबैले आफ्नो क्षमता र हैसियतअनुसार योगदान गर्नुपर्नेमा जोड दिनुभयो। पीडित नागरिकलाई तत्काल राहतसँगै उनीहरूको पुनःस्थापनाका लागि समेत सामूहिक प्रयास आवश्यक रहेको उहाँको भनाइ छ।
भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण विभिन्न क्षेत्रमा जनधनको क्षति हुनुका साथै नागरिकहरू प्रभावित भएका छन्। बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न स्थानीय तह, संघसंस्था, निजी क्षेत्र तथा व्यक्तिहरूले सहयोग जुटाइरहेका बेला कालिका नगरपालिकाले पनि आफ्नो तर्फबाट आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।
नगरपालिकाले विपद्को समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा आवश्यक समन्वय र सहयोगलाई निरन्तरता दिने जनाएको छ। साथै, विपद्बाट प्रभावित नागरिकको पीडामा मल्हम लगाउन सबै पक्षलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेको छ।
नगरपालिकाले विपद् कुनै एक व्यक्ति वा परिवारको मात्र समस्या नभई सामूहिक चुनौती भएकाले संकटको समयमा एकता, सहकार्य र मानवीय भावना नै सबैभन्दा ठूलो शक्ति हुने जनाएको छ। पीडित नागरिकलाई राहत दिनेदेखि उनीहरूलाई पुनः सामान्य जीवनमा फर्काउनसम्म सबै तह र पक्षको सहकार्य आवश्यक रहेको नगरपालिकाको भनाइ छ।
कालिका नगरपालिकाको यो सहयोगले विपद्को समयमा स्थानीय सरकार नागरिकको दुःख र पीडामा अभिभावकका रूपमा साथमा उभिनुपर्छ भन्ने सकारात्मक सन्देश समेत दिएको छ।








प्रतिकृया दिनुहोस्