ललितपुर-नेपाल स्क्वास र्याकेट संघको आयोजनामा भएको ‘पीएसए नेपाल स्याटेलाइट स्क्वास प्रतियोगिता -२०२६’ को उपाधि श्रीलंकाका वारिकिल एम शमिलले जितेका छन् ।
ललितपुरको सातदोबाटोस्थित नेपाल स्क्वास तथा र्याकेट संघको स्क्वास कोर्टमा सम्पन्न फाइनल खेलमा वारिकिलले युनाइटेड किङ्डम (यु.के.) का अन्डरियन शार्पलाई ५-३ का प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । वारिकिलले पहिलो सेट ६-११, दोस्रो सेट ११-१०, तेस्रो सेट ८-११, चौथो सेट ११-६ र पाँचौँ सेट ११-८ ले जितेका छन् । यस्तै, फाइनल खेलअगाडि तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकाका नेभिन्दु लकम्नले मलेसियाका नितीश मणिमरणलाई ३-२ को सेटले जित हासिल गरेका छन् । नेभिन्दुले पहिलो सेट ८-११, दोस्रो सेट ११-५, तेस्रो सेट १६ – १४ र चौथो सेट ११-६ ले पराजित गर्दै तेस्रो स्थान हासिल गरेका हुन् । पराजित नितीश मणिमरण चौथो भएका छन् । यसैगरी, मंगलबार बिहान भएको पाँचौँ स्थानको प्लेसिङ खेलमा नेपालका अरहान्त केशर सिंह विजेता भएका छन् । सिंहका प्रतिस्पर्धी दीपक थापा चोटका कारण खेल पूरा गर्न नसकेपछि अरहान्तलाई विजेता घोषित गरिएको हो । दीपक थापा छैटौँ भएका छन् ।
त्यस्तै, सातौँ स्थानका लागि भएको खेलमा मलेसियाका अविनाश अनबरासुले बंगलादेशका हसन अबिदलाई ३-० को सेटमा पराजित गरेका छन् । अनबरासुले पहिलो सेट ११-६, दोस्रो सेट ११-९ र तेस्रो सेट ११-८ ले जित निकाल्दै सातौँ भएका छन् । पराजित हसन अबिद आठौँ भए । त्यसैगरी, नवौँ स्थानको लागि भएको खेलमा नेपालका उदीयमान खेलाडी पासाङ भोटेले इटलीका रेन्जो अन्डोनिलाई ३-० ले हराएका छन् । पासाङले पहिलो सेट ११-९, दोस्रो सेट १२-१० र तेस्रो सेट ११-६ ले पराजित गरेका छन् । रेन्जो अन्डोनि दशौँ भए । यस्तै, ११ औँ स्थानका लागि भएको खेलमा भारतका अनमय रुङ्टाले बंगलादेशका अब्दुल ए. सिद्दर सायेमलाई ३-२ ले पराजित गरेका छन् । रुङ्टाले पहिलो सेट ८-११, दोस्रो सेट ११-६, तेस्रो सेट ७-११, चौथो सेट ११-८ र पाँचौँ सेट ११-९ ले जित हासिल गरेका छन् । पराजित अब्दुल ए. सिद्दर सायेम १२ औँ भए ।
यसैगरी, १३ औँ स्थानको खेलमा नेपालका सरोज तामाङले बंगलादेशका बरुआ दोर्जेलाई ३-१ ले पराजित गरेका छन् । तामाङले पहिलो सेट १५-१७, दोस्रो सेट ११-५, तेस्रो सेट ११-८ र तेस्रो सेट ११-९ ले जित हासिल गरेका छन् । बरुआ दोर्जे १४ औँ भए । त्यस्तै, १५ औँ स्थानको लागि भएको खेलमा नेपालका नैनाबहादुर मगरले राकेश परियारलाई ३-० ले हराएका छन् । पराजित राकेश परियार १६ औँ भए । पहिलो पटक नेपालमा आयोजना भएको प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, मलेसिया र युनाइटेड किङ्डम (यु.के.) देशका १६ जना खेलाडीहरुको १६ खेलाडीहरु सहभागी भएका थिए । प्रतियोगिताको ड्र साइज ८, १६ र ३२ जनाको हुने भए पनि यस पटक १६ जना खेलाडीहरुलाई ड्रमा सहभागी गराइएको थियो । राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृति लिएर भदौ ६ गतेदेखि प्रतियोगिता सुरु भएको थियो ।
प्रतियोगिताको कुल पुरस्कार राशि १ हजार अमेरिकी डलर रहेको थियो । उपाधि विजेता श्रीलंकाका वाकिल एम शमिलले ४०० र उप-विजेता बनेका बेलायतका आइओन शार्पले २०० डलर पुरस्कारसहित ट्रफी र प्रमाण-पत्र प्राप्त गरेका छन् । त्यसैगरी, सेमिफाइनलमा पुगेका मलेसियाका नितीश मणिमरणलाई र श्रीलंकाका नेभिन्दु लक्मनले जनही १०० अमेरिकी डलर प्राप्त गरेका छन् । यस्तै, क्वार्टरफाइनलमा पुगेका नेपालका अराहन्त केशर सिंह, दीपक थापा, मलेसियाका अविनाश अनबरासु र बंगलादेशका हसन अबिदले जनही ५० अमेरिकी डलर पुरस्कारसहित ट्रफी र प्रमाण-पत्र प्राप्त गरेको संघका उपाध्यक्ष एवं प्रतियोगिताका निर्देशक रुपक दास ताम्राकारले जानकारी दिए ।
प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रामचरित्र मेहेताले संघले अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजना गर्न र यसमा सरकारले पनि सहयोग गर्दै जाने बताए । यसैगरी, प्रतियोगिताले नेपाली खेलाडीहरुलाई अन्तर्राष्ट्रिय खेलाडीहरूसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नुका साथै नेपाललाई अन्तर्राष्ट्रिय स्क्वासको क्षेत्रमा थप स्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको नेपाल स्क्वास र्याकेट्स संघका अध्यक्ष ध्रुवबहादुर गुरुङले बताए ।






प्रतिकृया दिनुहोस्