सुनसरी – नेपाल आर्मी फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै सशस्त्र प्रहरी बल (एपिएफ) क्लब प्रथम धरान अन्तरराष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
धरान उपमहानगरपालिका–१६ स्थित धरान रङ्गशालामा बुधबार राति सम्पन्न पहिलो सेमिफाइनलमा दुई विभागीय टोलीबीच भएको प्रतिस्पर्धामा एपीएफले पहिलो हाफमै दुई गोल गरेको थियो । खेलको नवौँ मिनेटमा एपिएफका अनिता बस्नेतले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् ।
त्यस्तै, क्याप्टेन गीता राणाले पहिलो हाफको ४४औँ मिनेटमा अर्को गोल थपेकी थिइन् । खेलमा एपिएफकी गीता राणा ‘प्लेयर अफ दी म्याच’ घोषित भइन् । उनलाई नगद रु १० हजार पुरस्कार प्रदान गरिएको आयोजक फुटबल क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष राईले जानकारी दिए।
क्वाटरफाइनलमा भारतको झारखण्डस्थित अक्वा फुटबल क्लबलाई ७–० गोलले पराजित गर्दै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको थियो । त्यस्तै, आर्मीले क्वाटरफाइनलमा बागमती युथ क्लब सर्लाहीलाई ९–० गोलको फराकिलो अन्तरले हराउँदै एपिएफसँग पहिलो सेमिफाइनलमा प्रतिस्पर्धा गरेको हो ।
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज नेपाल पुलिस क्लब र आयोजक स्वर्णिम फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेताले फाइनलमा एपिएफसँग उपाधिका लागि भिड्नेछ ।
डी–१९ क्लब र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिता यही मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले ट्रफीसहित रु पाँच लाख र उपविजेताले रु तीन लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई इभी स्कुटर प्रदान गरिनेछ भने व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही रु १५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।










प्रतिकृया दिनुहोस्