झापा– एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप २०८३ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
शिवसताक्षीस्थित दुधे रंगशालामा शुक्रबारदेखि सुरु हुने प्रतियोगितामा सात हजार दर्शकले एकैपटक खेल हेर्न सक्ने गरी अस्थायी प्याराफिट निर्माण गरिएको आयोजकले जनाएको छ ।
गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा लिम्बूका अनुसार उद्घाटन खेलमा आयोजक झापा–११ फुटबल क्लब र आरएस पोखरा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले पाँच लाख ५० हजार रुपैयाँसहित ट्रफी र मेडल पाउनेछ । गत संस्करणको तुलनामा यसपटक विजेताको पुरस्कार राशि ९० हजार र उपविजेताको ५० हजार रुपैयाँले वृद्धि गरिएको अध्यक्ष लिम्बूले जानकारी दिए ।
यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । उत्कृष्ट प्रशिक्षक, गोलकिपर, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरी १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ ।










प्रतिकृया दिनुहोस्