काठमाडौँ – क्यामिलो डुरानको दुई उत्कृष्ट गोलको मद्दतले सेल्टिकले युरोपेली च्याम्पियन्स लिगको प्ले-अफ पहिलो लेगमा अस्ट्रियाको लास्कमाथि ३-० को प्रभावशाली जित निकालेको छ।
सेल्टिक पार्कमा भएको प्रतिस्पर्धात्मक खेलको सुरुआतमै स्वीडिस फरवार्ड बेन्जामिन निग्रेनले बक्स बाहिरबाट उत्कृष्ट प्रहार गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि कोलम्बियाली फरवार्ड डुरानले हाफ टाइमअघि र पछि दुई गोल गर्दै स्कटिस च्याम्पियनको जित सुनिश्चित गरे।
पाहुना टोली लास्कले खेलको सुरुआतमै सेल्टिकलाई दबाबमा राखेको थियो। पहिलो हाफमा लास्कका मोसेस उसोर र सेमुअल एडेनिरानले सेल्टिकको पोस्टमा बल छिराए पनि दुवै प्रयासलाई रेफ्रीले अफसाइड घोषित गरिदिएका थिए।
दोस्रो हाफमा थप आक्रामक बनेको सेल्टिकका लागि डुरानले निग्रेनसँगको उत्कृष्ट ‘वान-टु’ पासमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० को अग्रता दिलाए। लास्कले खेलमा फर्कने केही राम्रा अवसर बनाए पनि सेल्टिकका गोलकिपर भिल्जामी सिनिसालोले उत्कृष्ट बचाउ गरे।
यस जितसँगै सेल्टिकले च्याम्पियन्स लिगको समूह चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ। यी दुई टोलीबीचको निर्णायक दोस्रो लेग आगामी मङ्गलबार अस्ट्रियाको लिन्जमा हुनेछ।






प्रतिकृया दिनुहोस्