रत्ननगर। नगर कलेजले समयसापेक्ष शैक्षिक रूपान्तरणको नयाँ चरणलाई अघि बढाएको छ। प्रविधि र रोजगारीको आधुनिक बजारलाई मध्यनजर गर्दै कलेजले आफ्नो शैक्षिक दृष्टिकोण तथा विद्यार्थी अनुभवलाई पुनर्संरचना गर्ने प्रक्रिया अघि बढाएको हो।
कलेजले आफ्नो उद्देश्य प्राप्तिका लागि शनिबार ‘मिसन १००’ लाई लक्ष्यमा राखेर ‘फ्युचर रेडी सेमिनार’ सम्पन्न गरेको छ। विद्यार्थी, शिक्षक तथा विज्ञहरूको सहभागिता रहेको कार्यक्रममा करियर, आधुनिक सीप, उद्यमशीलता, प्रविधि तथा नेपाल र विश्व बजारमा उपलब्ध अवसरका विषयमा अन्तरक्रिया गरिएको थियो।
भविष्यका लागि विद्यार्थीलाई तयार पार्न पाँचवटा प्रमुख विषयसहित प्रविधि, रोजगारी र ‘पढ्दै कमाउँदै’ भन्ने अवधारणा अघि सारिएको कलेजका प्रमुख कार्यकारी अधिकृत विष्णु पुरीले बताए। उनले कलेजले समयअनुकूल शैक्षिक रूपान्तरणका लागि नयाँ चरण सुरु गरेको जानकारी दिए।
वि.सं. २०२० मा स्थापित यस कलेजले त्रिभुवन विश्वविद्यालयबाट मान्यताप्राप्त शिक्षालाई थप परिमार्जन गर्दै व्यावहारिक सीप, प्रविधि, उद्यमशीलता, नेतृत्व तथा करियरसँग जोड्ने उद्देश्यसहित नयाँ शैक्षिक अवधारणा अघि सारेको पुरीले बताए।
कलेजका अध्यक्ष वासुदेव गोफिन्दले कलेजलाई अध्ययनका लागि उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्दै लगिएको बताए। उनले स्थापनाकालदेखि नै विद्यार्थीको आवश्यकता र समयअनुकूल शिक्षामा जोड दिँदै आएको र आगामी दिनमा यसलाई थप प्रभावकारी बनाइने बताए।
कलेजले ‘डिग्री, सीप र अनुभव’लाई आफ्नो मुख्य अवधारणाका रूपमा अघि सारेको छ। बदलिँदो रोजगारी बजारमा परम्परागत डिग्रीमात्र पर्याप्त नहुने भएकाले अध्ययनलाई सीप, क्षमता र अवसरसँग जोड्नु नयाँ पहलको मुख्य उद्देश्य रहेको कलेजले जनाएको छ। यसअन्तर्गत कलेजमा उद्यमशीलता प्रवर्द्धन तथा वास्तविक व्यवसायसँग सम्बन्धित परियोजनामार्फत सिकाइ गराउने र ‘पढ्दै कमाउँदै’ कार्यक्रम क्रमशः सञ्चालन गर्ने लक्ष्य राखिएको छ।
प्राचार्य घनश्याम सुवेदीले निजी क्षेत्रबाट सञ्चालित भए पनि कलेजले स्थापनाकालदेखि नै विद्यार्थीलाई सर्वसुलभ तथा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए। उनले आधुनिक बजारको मागअनुसार विद्यार्थीलाई थप सक्षम र प्रतिस्पर्धी बनाउन कलेज प्रतिबद्ध रहेको स्पष्ट पारे।
कलेजले आगामी पाँच वर्षलाई लक्षित गरी ‘मिसन १००’ अघि सारेको छ। पहिलो चरणमा १०० जना विद्यार्थीको सीमित समूहमा केन्द्रित भई गुणस्तरीय, व्यावहारिक र अवसरमुखी शैक्षिक अनुभव प्रदान गर्ने कलेजको लक्ष्य रहेको छ।






प्रतिकृया दिनुहोस्