कालिका, चितवन । नेपाल दलित महिला उत्थान सङ्घ (एडवान)को आयोजनामा सञ्चालन गरिएको मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धी तालिम कालिका नगरपालिका–१ मा सम्पन्न भएको छ।
मङ्गलबार आयोजित समापन समारोहमा कालिका नगरपालिकाकी उपप्रमुख बिमला तामाङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा कालिका नगरपालिका–१ का वडा अध्यक्ष सन्तवीर स्याङतान, नगर कार्यपालिका सदस्य, वडा नं. १ का वडा सदस्य, महिला समूहकी अध्यक्ष सरस्वती खत्री लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम नेपाल दलित महिला उत्थान सङ्घ (एडवान) की केन्द्रीय अध्यक्ष बिन्दु परियारको अध्यक्षतामा सम्पन्न भएको थियो। तालिमको सहजीकरण एडवानकी परिचालिका कमला पन्थीले गर्नुभएको थियो भने सहभागी महिलाहरूलाई कृषि विज्ञ शिवराज पौडेलले मौसमी तथा बेमौसमी तरकारी खेती, आधुनिक कृषि प्रविधि, उत्पादन वृद्धि तथा व्यावसायिक खेतीका विषयमा प्रशिक्षण दिनुभएको थियो।
सीमान्तकृत महिलाहरूको जीविकोपार्जन तथा आर्थिक सुधार परियोजनाअन्तर्गत करुणा ट्रष्ट यूकेको आर्थिक तथा प्राविधिक सहयोग तथा कालिका नगरपालिकाको समन्वयमा उक्त तालिम सञ्चालन गरिएको हो।
समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपप्रमुख तामाङले महिलालाई आर्थिक रूपमा सक्षम बनाउन यस्ता सीपमूलक तालिमको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै व्यावसायिक तरकारी खेतीमार्फत आयआर्जन बढाउन सहभागी महिलाहरूलाई आग्रह गर्नुभयो। नगरपालिकाले कृषि तथा महिला सशक्तीकरणका कार्यक्रमलाई आगामी दिनमा पनि प्राथमिकता दिने उहाँको भनाइ थियो।
त्यसैगरी वडा अध्यक्ष स्याङतानले वडा स्तरमा महिलाको आयआर्जन वृद्धि र आत्मनिर्भरताका लागि यस्ता तालिम आवश्यक रहेको उल्लेख गर्नुभयो। तालिमबाट सिकेका सीपलाई उत्पादनमुखी काममा प्रयोग गरी स्थानीय स्तरमै रोजगारी र आम्दानी सिर्जना गर्न सहभागीहरूलाई उहाँले अनुरोध गर्नुभयो। यस्ता कार्यक्रम सञ्चालन गर्ने संस्थासँग वडा कार्यालयले आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमकी अध्यक्ष परियारले दलित तथा विपन्न महिलाको आर्थिक सशक्तीकरण एडवानको प्रमुख उद्देश्य रहेको बताउनुभयो। उहाँले तालिमले महिलामा आत्मविश्वास बढाउनुका साथै स्वरोजगार र उद्यमशीलता विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। सीप सिकेर मात्रै नबस्न, त्यसलाई व्यवहारमा लागू गरी आयआर्जनको माध्यम बनाउन उहाँले सहभागीहरूलाई आग्रह गर्नुभयो।
तालिममा सहभागी महिलाहरूको तर्फबाट समूहकी अध्यक्ष खत्रीले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै व्यावसायिक तरकारी खेतीमार्फत आयआर्जन वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।





प्रतिकृया दिनुहोस्