रत्ननगर। रत्ननगर नगरपालिका–५ झुवानीका मधुमेह (सुगर) र उच्च रक्तचाप (प्रेसर) का बिरामीलाई आवश्यक औषधि निःशुल्क उपलब्ध गराउने अभियानलाई वडा कार्यालयले निरन्तरता दिएको छ। स्थानीय नागरिकले नियमित उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले वडा कार्यालयले नगर स्वास्थ्य केन्द्र टरौलीमार्फत औषधि वितरण गर्दै आएको हो।
वडाध्यक्ष बालकृष्ण चापागाईंका अनुसार नेपाल सरकारले स्वास्थ्य संस्थामार्फत उपलब्ध गराउँदै आएका औषधिबाहेक सुगर, प्रेसर र ग्यास्ट्रिकसम्बन्धी थप ३२ प्रकारका औषधि वडा कार्यालयले आफ्नै बजेटबाट खरिद गरी वितरण गर्दै आएको छ। यसका लागि वडा कार्यालयले वार्षिक रु. १ लाखदेखि १ लाख ५० हजारसम्म बजेट विनियोजन गर्ने गरेको छ।
डाक्टरको सिफारिसअनुसार नियमित औषधि सेवन गर्नुपर्ने ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति तथा आर्थिक अवस्था कमजोर भएका नागरिकलाई प्राथमिकतामा राखेर औषधि वितरण भइरहेको वडाध्यक्ष चापागाईंले बताए। उनका अनुसार यो कार्यक्रम विगत तीन वर्षदेखि निरन्तर सञ्चालनमा रहेको छ।
नगर स्वास्थ्य केन्द्र टरौलीका प्रमुख गोविन्दप्रसाद शर्माले दीर्घरोगीलाई नियमित औषधि उपलब्ध गराउन कार्यक्रम प्रभावकारी बनेको बताए। उनले स्वास्थ्य केन्द्रमा सरकारबाट प्राप्त हुने १८ प्रकारका औषधि निःशुल्क उपलब्ध रहेको र वडा कार्यालयको सहयोगबाट थप औषधि उपलब्ध गराइँदा बिरामीलाई ठूलो राहत पुगेको जानकारी दिए।
हालै वडा कार्यालयले करिब रु. ९० हजार बराबरका सुगर, प्रेसर र ग्यास्ट्रिकका औषधि नगर स्वास्थ्य केन्द्र टरौलीलाई हस्तान्तरण गरेको छ। औषधि हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष बालकृष्ण चापागाईं, वडा सदस्य निलु शर्मा खत्री, वडा सचिव दिनेश सुवेदी तथा स्वास्थ्य केन्द्रका कर्मचारीहरूको सहभागिता रहेको थियो।
आर्थिक अभावका कारण उपचारबाट कोही पनि वञ्चित नहोस् भन्ने उद्देश्यसहित सञ्चालन गरिएको यो कार्यक्रम स्थानीयवासीका लागि प्रभावकारी स्वास्थ्य सेवाको नमुना बन्दै गएको वडा अध्यक्ष चापागाईंले बताउनुभयो ।





प्रतिकृया दिनुहोस्