चितवन : चितवनको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यसहित वरण्डाभार जैविक मार्गअन्तर्गतका सामुदायिक वन क्षेत्रमा पहिलो पटक ‘नाइट जीप सफारी’ परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको छ। चितवन राष्ट्रिय निकुञ्जमा मात्रै केन्द्रित रहेको पर्यापर्यटनलाई सामुदायिक वनसम्म विस्तार गर्ने लक्ष्यका साथ यो नवीन अवधारणा अघि बढाइएको हो।
रत्ननगर नगरपालिकाको दक्षिण क्षेत्रमा रहेको पञ्चकन्या सामुदायिक वन तथा कालिका नगरपालिकाअन्तर्गतका चर्तुमुखी र भीमवली सामुदायिक वनले संयुक्त रूपमा करिब ३० किलोमिटर लामो जंगल मार्ग तयार गरी परीक्षणका रूपमा नाइट जीप सफारी सुरु गरेका छन्। बागमती प्रदेश सरकारका पर्यटन सचिव दिपेन्द्र सुवेदीका अनुसार नेपालकै पर्यटन क्षेत्रमा नयाँ ‘टुरिजम प्रोडक्ट’ का रूपमा नाइट सफारीलाई विकास गर्ने लक्ष्य राखिएको छ र यसका लागि प्रदेश सरकारले समेत लगानी गर्दै अघि बढ्ने तयारी गरेको छ।
चर्तुमुखी सामुदायिक वनका अध्यक्ष हरिकुमार गुरुङले नाइट जीप सफारीले सामुदायिक वनमा आधारित पर्यटनको नयाँ सम्भावना सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार यस कार्यक्रमले वन संरक्षण र पर्यटनलाई सँगै अघि बढाउँदै स्थानीय युवाका लागि रोजगारी तथा समुदायको आयआर्जन बढाउन महत्वपूर्ण योगदान पुर्याउनेछ। “हामीले पर्यटकलाई सुरक्षित र गुणस्तरीय अनुभव दिलाउने गरी आवश्यक पूर्वाधार तथा व्यवस्थापनमा विशेष ध्यान दिएका छौं। परीक्षण सफल भए यसलाई नियमित रूपमा सञ्चालन गरी चितवनको नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित गर्ने हाम्रो लक्ष्य हो,” अध्यक्ष गुरुङले बताउनुभयो।
पञ्चकन्या सामुदायिक वनका अध्यक्ष गोविन्द स्याङ्त्याङका अनुसार परीक्षण सफल भएपछि नाइट जीप सफारीलाई नियमित पर्यटन गतिविधिका रूपमा सञ्चालन गरिनेछ। उनका अनुसार यसले सामुदायिक वनको संरक्षणसँगै स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
चितवन राष्ट्रिय निकुञ्जलाई महाभारत क्षेत्रसँग जोड्ने महत्वपूर्ण जैविक मार्गका रूपमा रहेको वरण्डाभार क्षेत्रमा प्रभावकारी संरक्षणका कारण एकसिङ्गे गैँडा, पाटेबाघ, चितुवा, भालु, जरायो, चित्तल र बँदेललगायतका दुर्लभ वन्यजन्तु सहज रूपमा अवलोकन गर्न सकिन्छ। भीमवली सामुदायिक वनका अध्यक्ष मछिन्द्र पाण्डेका अनुसार रातिको समयमा वन्यजन्तुको प्राकृतिक गतिविधि नजिकबाट हेर्न सकिने भएकाले नाइट सफारी पर्यटकका लागि थप आकर्षण बन्ने विश्वास गरिएको छ।
सामुदायिक वनहरूले संरक्षणसँगै पर्यापर्यटनलाई प्राथमिकतामा राख्दै जंगलभित्र रहेका तालतलैयाको मर्मत–सम्भार, वन्यजन्तु अवलोकनका लागि मचान निर्माण तथा पर्यटकमैत्री पूर्वाधार विकासका कार्यलाई पनि तीव्रता दिएका छन्।
यस अभियानमा बागमती प्रदेश सरकार, स्थानीय तह, डिभिजन वन कार्यालय चितवन तथा क्षेत्रीय होटल संघ सौराहाको सहकार्य रहेको छ। होटल व्यवसायीहरूले समेत पर्यटकलाई नाइट सफारीमा सहभागी गराउने प्रतिबद्धता जनाएपछि सामुदायिक वनका पदाधिकारी उत्साहित बनेका छन्।
वन उपभोक्ता समितिका प्रतिनिधिहरूका अनुसार संरक्षणबाट मात्रै सीमित लाभ लिने अवस्थाको अन्त्य गर्दै अब पर्यापर्यटनमार्फत स्थानीय समुदायको आयआर्जन वृद्धि गर्ने लक्ष्य राखिएको छ। क्षेत्रीय होटल संघ सौराहाका महासचिव महेश खनालले नाइट सफारी नियमित रूपमा सञ्चालनमा आए चितवनमा पर्यटकको बसाइ अवधि लम्बिने, सामुदायिक वनमा पर्यटकको आकर्षण बढ्ने तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।
पहिलो चरणमा बेलुका ५ बजेदेखि राति ९ बजेसम्म नाइट जीप सफारी सञ्चालन गरिनेछ। यसका लागि प्रति जीप ५०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ। सरोकारवालाहरूले यसलाई चितवनको नयाँ र आकर्षक पर्यटन उत्पादनका रूपमा विकास गर्ने तयारी गरेका छन्।







प्रतिकृया दिनुहोस्