चितवन, कालिका । नेपाल दलित महिला उत्थान संघ ९एड्वान० को आयोजना, करुणा ट्रस्टको प्राविधिक सहयोग तथा कालिका नगरपालिकाको समन्वयमा वडा नं। ७ मा तीन दिने वित्तीय साक्षरता तालिम विहीबार सम्पन्न भएको छ।
आदर्श दिदीबहिनी महिला समूह र जागरण महिला समूहका ३० जना महिलाको सहभागिता रहेको उक्त तालिमले आम्दानी वृद्धि, बचत तथा लगानीसम्बन्धी ज्ञान अभिवृद्धि गर्दै आर्थिक सशक्तीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख बिमला तामाङले महिलाको आर्थिक सशक्तीकरण अपरिहार्य रहेको बताउँदै यस्ता तालिमलाई निरन्तरता दिनुपर्ने धारणा राखिन्। वडा नं। ७ का अध्यक्ष कमलराज मोक्तानले स्थानीय महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले यस्ता कार्यक्रम प्रभावकारी हुने बताए।
कालिका नगरपालिकाका आर्थिक, सामाजिक, सहकारी तथा सूचना अधिकृत प्रकाशचन्द्र पौडेलले वित्तीय साक्षरताले सही आर्थिक निर्णय लिन सक्षम बनाउने उल्लेख गर्दै सिकेका सीप व्यवहारमा उतार्न आग्रह गरे।
एड्वानकी उपाध्यक्ष तीर्थकुमारी बिकले दलित तथा विपन्न महिलाको जीवनस्तर उकास्न यस्ता तालिम महत्वपूर्ण हुने बताइन् भने प्रशिक्षक केशर आउजी र सहजकर्ता कमला पन्थीले तालिममार्फत बचत, लगानी, ऋण व्यवस्थापन र साना व्यवसाय सञ्चालनसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको जानकारी दिए।
एड्वानकी अध्यक्ष विन्दु थापा परियारले यस्ता कार्यक्रमले महिलाको जीवनमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरिन्।
सहभागीहरूले तालिम अत्यन्त उपयोगी रहेको जनाउँदै सिकेका ज्ञान व्यवहारमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।





प्रतिकृया दिनुहोस्