चितवन । कोरियन कम्पनी एसवाई प्यालनले चितवनको रत्ननगरमा युपिभिसी उद्योग सञ्चालनको तयारी गरेको छ ।६ महिना भित्रमा निर्माण सकेर उत्पादन सुरु गर्ने तयारी गरिएको युपिभिसी उद्योगबाट झ्याल, ढोका र पाटेसन तयार गर्न आवश्यक पर्ने प्रोफाइल उत्पादन गरेर बजारमा पठाउने उनले जानकारी दिए ।
कम्पनीले ६० करोडको लगानीमा रत्ननगर वडा नं १४ पिठुवामा एसवाई युपिभिसी उद्योग सञ्चालन गर्न लागेको हो । सोमबार रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा र कम्पनीका कार्यकारी प्रमुख होङ सङ बु ले सयुक्त रुपमा उद्योगको शिलान्यास गरेका हुन् ।
आइपीओ निस्कासन गरेपछि संकलित रकमबाट उद्योग सञ्चालनमा ल्याउने तयारी गरिएको कार्यकारी प्रमुख होङ सङ बु ले बताए । ६ महिना भित्रमा निर्माण सकेर उत्पादन सुरु गर्ने तयारी गरिएको युपिभिसी उद्योगबाट झ्याल, ढोका र पाटेसन गरी ६ प्रकारका सामग्री उत्पादन गरेर बजारमा पठाउने उनले जानकारी दिए ।
एसवाई प्यानलले नेपाली आवासीय क्षेत्रमा गुणस्तरीय र दिगो परिवर्तन ल्याउने उद्देश्यसहित चितवनमा अत्याधुनिक युपिभिसी प्रोफाइल उत्पादन उद्योग सञ्चालनमा ल्याउनको लागि कारखाना निर्माणको कार्य सुरु भएको कार्यकारी प्रमुख बुले बताए ।
कम्पनीले नेपाली बजारमा उच्चस्तरीय निर्माण सामग्री उपलब्ध गराउने मात्र नभई स्वदेशमै उत्पादन वृद्धि गरी औद्योगिक विकासमा समेत महत्वपूर्ण योगदान गर्ने लक्ष्य लिएको छ । नेपाली आवासीय निर्माण क्षेत्रमा नयाँ लगानी गर्ने प्रतिवद्ध छौं उनले भने हाम्रो उद्देश्य केवल उत्पादन मात्र होइन, नेपाली जनताको दैनिक जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने हो । घरहरूको टिकाउ क्षमता वृद्धि गर्नुका साथै सुरक्षित, आरामदायी र वातावरणमैत्री आवास निर्माणमा योगदान गर्ने अपेक्षा गरिएको भन्दै उनले अत्याधुनिक प्रविधि प्रयोग गरी अन्तर्राष्ट्रिय मापदण्डअनुसार उत्पादन गर्ने, र नेपाली उपभोक्तालाई उच्च गुणस्तरको सामग्री सुलभ मूल्यमा उपलब्ध गराउने बताए ।
उद्योग सञ्चालनपछि स्थानीय स्तरमा रोजगारी सिर्जना, सीप विकास तथा औद्योगिक वृद्धि मार्फत आर्थिक सुदृढीकरणमा योगदान हुने विश्वास कम्पनीले गरेको एसवाई प्यानलका निर्देशक अनिल सापकोटाले बताए ।
कार्यक्रमका प्रमुख अतिथि मेयर सापकोटाले नगर भित्रका उद्योगहरुको सुरक्षाको लागि स्थानीय सरकार जिम्मेवार रहेको भन्दै उद्योगमा नगर भित्रकै गरिव तथा विपन्न समुदायका युवाहरुलाई रोजगारी दिनुपर्ने बताए ।
शिलान्यास कार्यक्रममा कम्पनीका प्रबन्धक लि थे गुन, निर्देशक ली हुवा छुन, वडाध्यक्ष होमनाथ रानाभाट, निर्वतमान वडाध्यक्ष हरिकुमार श्रेष्ठ, डिएसपी सुवास भट्ट, लगायतको उपस्थिति रहेको छ । २०७४ सालमा पिठुवामा स्थापना भएको एसवाई प्यानलले घर निर्माणका सामग्री उत्पादन गरी नेपाल तथा भरत र भूटानमा समेत निर्यात गर्दै आएको निर्देशक सापकोटाले जानकारी दिए ।





प्रतिकृया दिनुहोस्