१३ चैत्र २०८२, शुक्रबार ०६:२६
रत्ननगर । चितवनको रत्ननगर नगरपालिका–१५ मा सुत्केरी महिलालाई कुखुराको भालेसहित पौष्टिक आहार वितरण गरिएको छ ।
वडा कार्यालयको बजेटबाट १५ जना सुत्केरी महिलालाई कुखुराको भाले, २ लिटर तोरीको तेल, नौनी घ्यू, एक क्रेट अण्डा, १ किलो मह, मुंग तथा मसुरोको दाल, चना, भटमास तथा व्यक्तिगत सरसफाइका सामग्री प्रदान गरिएको हो ।
बिहीबार वडाको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आयोजित कार्यक्रममा वडा अध्यक्ष आशिक तामाङले सुत्केरी तथा गर्भवती महिलालाई पौष्टिक आहार हस्तान्तरण गरेका थिए ।
सो अवसरमा वडा अध्यक्ष तामाङले सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत सुत्केरी आमा र शिशुको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न यस्तो कार्यक्रम सञ्चालन गरिएको बताए । स्थानीय किसानले उत्पादन गरेका कुखुरा, अण्डा, तोरीको तेल र नौनी घ्यू खरिद गरी वितरण गरिएको उनले जानकारी दिए ।
“आमा र शिशुको स्वास्थ्य सुरक्षाका लागि विगत तीन वर्षदेखि निरन्तर रूपमा पौष्टिक आहार वितरण गर्दै आएका छौं । यो अभियान माधवपुरको सुनौलो भविष्य निर्माणसँग जोडिएको छ,” उनले भने ।
उनले सुत्केरी र गर्भवती महिलाको पोषण तथा स्वास्थ्य स्थानीय सरकारको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै पूर्वाधार निर्माण मात्र नभई नागरिकको स्वास्थ्य र सुरक्षा पनि उत्तिकै महत्त्वपूर्ण रहेको धारणा राखे ।
वडा कार्यालय नागरिकको सुख–दुःखमा सधैं साथमा रहने सन्देश दिन कार्यक्रम आयोजना गरिएको उनले बताए ।
वडाले सुत्केरी तथा गर्भवती महिलालाई पौष्टिक आहारसँगै खोप, भिडियो एक्स–रेलगायत आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
स्वास्थ्य सेवा केन्द्रकी प्रमुख रोजीना गिरीका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ मा ३१ जना सुत्केरी तथा गर्भवती महिलालाई पौष्टिक आहार वितरण गरिएको छ ।
कार्यक्रममा वडा सदस्य लिलादेवी पोखरेल, वडा सचिव नवराज तिवारी, स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिति रहेको थियो ।
स्वास्थ्य चौकी व्यवस्थापन समिति उपाध्यक्ष रूकमाया परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन स्वास्थ्य सेवा केन्द्रकी प्रमुख रोजीना गिरीले गरेकी थिइन् ।





प्रतिकृया दिनुहोस्