काठमाडौं : त्रिभुवन आर्मी क्लबले सोमबार राष्ट्रिय लिग फुटबलमा लिग तालिकाको शीर्षस्थानमा रहेको मछिन्द्र एफसीलाई २–१ ले हरायो।
आर्मीले त्यस्तो जित निकालेको छ, जसले प्रतियोगिताको उपाधि होड खुला भएको छ। आर्मीले यो खेल नजितेको भए उपाधि होडबाट लगभग बाहिरिने स्थितिमा पुग्थ्यो। अब आर्मीको ११ खेलबाट २३ अंक भएको छ। हारका बाबजुद गोल अन्तरमा मछिन्द्र अझै पनि २५ अंकसहित पहिलो स्थानमा छ। त्यस पछिाडि एपीएफ क्लबको २५ अंक छ।
खेल वर्षा र हुरीका कारण आधा घण्टा ढिला सुरु भएको थियो। पहिलो हाफमै फ्लडलाइटमा गडबडी आएपछि थप १० मिनेट जति रोकिएको थियो।
प्रतियोगितामा मछिन्द्रले अझै पनि एपीएफविरुद्ध खेल्न बाँकी छ। सम्भवतः यसकै नतिजा उपाधि होडमा निर्णायक साबित हुन सक्नेछ। आ र्मीले भने नवयुग श्रेष्ठको गोलमा ४० औं मिनेटमा अग्रता लिएको थियो, तर यो लामो समय टिकेन।
जोनाथन एडुबाडोले ४३ औं मिनेटमा बराबरी गोल फर्काए। दोस्रो हाफ सुरु भएलगत्तै जिलेस्पीजंग कार्कीले ४६ औं मिनेटमा आर्मीका लागि दोस्रो गोल गरे र यो नै अन्ततः निर्णायक साबित भयो।
सोमबार नै भएको अर्को खेलमा लालीगुराँसले प्लानिङ ब्वाइजको पुनरागमन रोक्दै ३–२ को जित रच्यो। यो नतिजाले जहाँ लालीगुराँसलाई उपाधिका लागि भिड्ने अवसर तयार भएको छ, त्यही प्लानिङको उपाधि सम्भावना लगभग टुंगिएको स्थिति रह्यो।
यो जितपछि लालीगुराँसको २४ अंक भएको छ र तेस्रो स्थानमा उक्लेको छ। अहिलेसम्म अपराजित पोखरेली टिमले ४ खेलको लगातार बराबरीपछि यो जित निकालेर आफूलाई उपाधिको प्रत्यासी बनाएको हो।
यसैगरी सोमबार नै सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलको कथा पनि पुनरागमन बराबरी नै रह्यो।
सातदोबाटोले खेलको २६ मिनेटभित्रै दुई गोलको अग्रता लिइसकेको थियो। अरुण लामाले १७ औं मिनेटमा गोलको खाता खोलेपछि फोडे फोफानाले दोस्रो गोल थपे। दोस्रो हाफको ७५ औं मिनेटमा धीरेन्द्रबहादुर शाहीले पुलिसका लागि पहिलो गोल फर्काए।
यस्तोमा खेल रोमान्चक बन्यो। पुलिसले बराबरी गोलका लागि दोस्रो हाफको इन्जुरी समयको नवौँ मिनेट कुर्नुपरेको थियो।





प्रतिकृया दिनुहोस्