कालिका। कालिका नगरपालिका वडा नं. १ द्वारा आयोजित वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि कालिका नगरपालिका वडा नं. २ ले जितेको छ। फाइनल खेलमा वडा नं. १ लाई ट्राइबेकर (पेनाल्टी सुटआउट) मा पराजित गर्दै वडा नं. २ ले उपाधि चुमेको हो।

प्रतियोगिताको विजेता कालिका–२ ले नगद ६० हजार रुपैयाँसहित मेडल र शिल्ड प्राप्त गरेको छ। त्यस्तै, उपविजेता कालिका–१ ले नगद ३० हजार रुपैयाँसहित मेडल र शिल्ड प्राप्त गरेको छ।
प्रतियोगिताको उद्घाटन कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मीले प्रमुख अतिथिका रूपमा गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख रेग्मीले खेलकुदले युवामा अनुशासन, आपसी सद्भाव र एकताको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले खेलकुदले युवाको प्रतिभा प्रस्फुटन गर्नुका साथै समाजमा सकारात्मक ऊर्जा र सहकार्यको भावना अभिवृद्धि गर्न सहयोग पुर्याउने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमका सभाध्यक्ष तथा कालिका नगरपालिका वडा नं. १ का वडाध्यक्ष सन्तवीर स्याङदानले स्थानीय खेलाडीको प्रतिभा पहिचान, खेलकुदको विकास र युवालाई सकारात्मक गतिविधिमा जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। उहाँले खेलकुदले युवालाई अनुशासित, स्वस्थ र सकारात्मक मार्गमा अघि बढाउन सहयोग गर्ने उल्लेख गर्दै खेलाडीलाई आवश्यक सहयोग र प्रोत्साहन प्रदान गरिने बताउनुभयो।

प्रतियोगिताका लागि नेपाली कांग्रेस कालिका नगर सभापति रमेश जंग थापाले नगद ६० हजार रुपैयाँ सहयोग गर्नुभएको थियो। त्यस्तै, प्रतियोगिताको द्वितीय पुरस्कार चतुर्मुखी सामुदायिक वन उपभोक्ता समूहले सहयोग गरेको थियो।
कार्यक्रममा कालिका नगरपालिकाका प्रवक्ता लक्ष्मण पौडेल, वडा नं. ३ का वडाध्यक्ष वीरेन्द्र तामाङ, वडा नं. ४ का वडाध्यक्ष मकरमान श्रेष्ठ, वडा नं. ५ का वडाध्यक्ष दीपकबहादुर भट्टराई र वडा नं. ६ का वडाध्यक्ष टीकाराम रेग्मीलगायत जनप्रतिनिधि तथा स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो। वडा नं. १ का सदस्य ओमकार खड्का र जीवन लामा, वडा सचिव बहादुर लोहारसहित अन्य जनप्रतिनिधि तथा सरोकारवालाहरू पनि कार्यक्रममा सहभागी थिए।

त्यसैगरी, इलाका प्रहरी कार्यालय जुटपानीका प्रहरी निरीक्षक जय नेपाल थापा, निवर्तमान वडाध्यक्ष लीलाबहादुर गुरुङ, चतुर्मुखी सामुदायिक वनका अध्यक्ष हरिकुमार गुरुङ, माथिल्लो भेग गडुवा खानेपानी संस्थाका अध्यक्ष लालबहादुर ख्युल, तल्लो भेग गडुवा खानेपानी संस्थाका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, जुटपानी गरिबी निवारण साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष खोमबहादुर गुरुङ तथा खेल संयोजक रोहित गुरुङलगायतको सहभागिता रहेको थियो।
यसैबीच, प्रतियोगितालाई थप उत्साहजनक बनाउन राम श्रेष्ठ (इन्डियन) ले सात दिनसम्म दैनिक ‘म्यान अफ द म्याच’ घोषित हुने खेलाडीलाई जनही ५५० रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। उहाँको घोषणाअनुसार सात दिनका लागि कुल ३ हजार ८५० रुपैयाँ पुरस्कार सहयोग उपलब्ध हुनेछ।
कार्यक्रम सञ्चालन लालीगुराँस टोल विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद घिमिरेले गर्नुभएको थियो।










प्रतिकृया दिनुहोस्