कालिका । स्थानीय खेल प्रतिभाको पहिचान र प्रवर्द्धन गर्दै युवामा खेलकुदप्रतिको आकर्षण बढाउने उद्देश्यले आयोजित वडा स्तरीय फुटबल प्रतियोगिता–२०८३ रोमाञ्चक मोडमा पुगेको छ। प्रतियोगिताको छैटौँ दिन आज भएको खेलमा कालिका–१ ले शानदार जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। यसअघि नै फाइनलमा प्रवेश गरिसकेको कालिका–२ सँग अब उपाधिका लागि कालिका–१ ले प्रतिस्पर्धा गर्नेछ।

आयोजकका अनुसार आगामी आश्विन २७ गते कालिका–१ र कालिका–२ बीच फाइनल खेल हुनेछ। स्थानीय फुटबलप्रेमीका लागि प्रतीक्षित बनेको उक्त भिडन्तले प्रतियोगिताको उपाधि विजेताको टुङ्गो लगाउनेछ।
आजको खेल कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेस कालिका नगर सभापति एवं समाजसेवी नरजंग थापा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा बोल्दै थापाले खेलकुदले युवामा अनुशासन, एकता, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले प्रतियोगितामा प्रथम हुने टोलीलाई ३० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ।

थापाले स्थानीयस्तरमा आयोजना हुने खेलकुद प्रतियोगिताले युवाभित्र लुकेका प्रतिभा उजागर गर्नुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सहयोग पुर्याउने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमका सभाध्यक्ष तथा कालिका नगरपालिका–१ का वडाध्यक्ष सन्तवीर स्याङदानले स्थानीय खेलाडीको प्रतिभा पहिचान, खेलकुदको विकास र युवालाई सकारात्मक गतिविधिमा जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। उहाँले खेलकुदले युवालाई अनुशासित, स्वस्थ र सकारात्मक मार्गमा अघि बढाउन सहयोग गर्ने उल्लेख गर्दै खेलाडीलाई आवश्यक सहयोग र प्रोत्साहन प्रदान गरिने बताउनुभयो।
कार्यक्रममा कालिका नगर प्रवक्ता लक्ष्मण पौडेल, वडा नं. ४ का अध्यक्ष मकरमान श्रेष्ठ, वडा नं. ५ का अध्यक्ष दीपकबहादुर भट्टराई, वडा नं. ६ का अध्यक्ष टीकाराम रेग्मीलगायत जनप्रतिनिधि तथा स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो। वडा नं. १ का सदस्य ओमकार खड्का, जीवन लामा, वडा सचिव बहादुर लोहार तथा अन्य जनप्रतिनिधि र सरोकारवालाहरू पनि कार्यक्रममा सहभागी थिए।

त्यसैगरी, चतुर्मुखी सामुदायिक वनका अध्यक्ष हरिकुमार गुरुङ, माथिल्लो भेग गडुवा खानेपानी संस्थाका अध्यक्ष लालबहादुर ख्युल, तल्लो भेग गडुवा खानेपानी संस्थाका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ तथा जुटपानी गरिबी निवारण साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष खोमबहादुर गुरुङलगायतको सहभागिता रहेको थियो।
यसैबीच, राम श्रेष्ठ (इन्डियन) ले प्रतियोगितालाई थप उत्साहजनक बनाउन सात दिनसम्म दैनिक ‘म्यान अफ द म्याच’ घोषित हुने खेलाडीलाई जनही ५५० रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। उहाँको घोषणाअनुसार सात दिनका लागि कुल ३ हजार ८५० रुपैयाँ पुरस्कार सहयोग उपलब्ध हुनेछ।
कार्यक्रम सञ्चालन लालीगुराँस टोल विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद घिमिरेले गर्नुभएको थियो।

स्थानीय खेलाडीको प्रतिभा प्रदर्शन, खेलप्रतिको उत्साह र सामुदायिक सहभागिताले प्रतियोगितालाई थप आकर्षक बनाएको छ। अब सबैको ध्यान आश्विन २७ गते हुने फाइनलमा केन्द्रित भएको छ, जहाँ कालिका–१ र कालिका–२ बीचको प्रतिस्पर्धाले वडा स्तरीय फुटबल प्रतियोगिता–२०८३ को विजेता तय गर्नेछ।










प्रतिकृया दिनुहोस्