काठमाडौं । रुसको सरकारी तथ्याङ्कको विश्लेषणबाट सन् २०२२ मा युक्रेन युद्ध सुरु भएयता हालसम्म कम्तीमा ४ लाख ९० हजार ३ सय ३४ रुसी सैनिकको मृत्यु भएको तथ्य बाहिरिएको छ।
बीबीसी न्युजका अनुसार रुसको सरकारी तथ्याङ्क सङ्कलन गर्ने निकाय रोसस्ट्याटको तथ्याङ्क विश्लेषण गर्दा यो जानकारी प्राप्त भएको हो।
लीक भएका रोसस्ट्याटका तथ्याङ्कहरूले युक्रेनमाथि रुसको पूर्ण स्तरको आक्रमणले देशभित्र मृत्युको प्रवृत्तिलाई कसरी परिवर्तन गरिदिएको छ भन्ने कुरा देखाउँछन्।
यी तथ्याङ्कहरूबाट यस युद्धमा रुसले कति ठुलो मानवीय मूल्य चुकाउनु परेको छ भन्ने पनि स्पष्ट हुन्छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सुरुमा यो युद्ध केही दिनमै समाप्त हुने विश्वास गरेका थिए। तर, अब यो युद्ध सुरु भएको करिब पाँच वर्ष पुग्न लागेको छ।
बीबीसी रुसी सेवाले सन् २०२१ देखि सेप्टेम्बर २०२६ सम्मका १ करोड १० लाखभन्दा बढी मृत्युका अभिलेखहरू प्राप्त गरेको छ। बेलारुसको समूह ‘साइबर पार्टिजन्स बीवाई’ र युक्रेनको ‘साइलेन्ट क्रो’ ले गरेको साइबर आक्रमणपछि यी अभिलेखहरू सार्वजनिक भएका हुन्।
रोसस्ट्याट एजेन्सीले साइबर आक्रमण भएको कुरा स्वीकार गरेको छ। यद्यपि, कुनै पनि सुरक्षित वा गोप्य जानकारी लीक नभएको दाबी गर्दै उसले उक्त कुरालाई अस्वीकार गरेको छ।
बीबीसी रुसी सेवाले स्वतन्त्र रुसी सञ्चारमाध्यम ‘मिडियाजोना’ सँग मिलेर यी तथ्याङ्कहरूको तुलना आफ्नो सूचीसँग गरेको छ, जसमा रुसी सैन्यकर्मीहरूको पुष्टि भएका मृत्युको अभिलेख राखिएको छ।
युद्ध सुरु भएदेखि सार्वजनिक रूपमा उपलब्ध स्रोतहरूको आधारमा यो सूची तयार पारिएको हो। दुवै तथ्याङ्कमा ९० प्रतिशत अभिलेखहरू मेल खाएका छन्।
सैन्य विशेषज्ञहरूले बीबीसीको सूचीमा दर्ज भएका २ लाख ९० हजार १२ मृत्युहरू वास्तविक सङ्ख्याको ४५ देखि ५५ प्रतिशत मात्र हुन सक्ने अनुमान गरेका छन्।
सरकारी प्रतिवेदन, सामाजिक सञ्जालका पोस्ट, नयाँ स्मारक र चिहानहरूबाट प्राप्त जानकारीका आधारमा यो सूची तयार पारिएको हो।
विशेषज्ञहरूको यस अनुमानअनुसार युक्रेन युद्धमा मारिएका रुसी सैनिकहरूको वास्तविक सङ्ख्या ५ लाख २७ हजार २ सय ९५ देखि ६ लाख ४४ हजार ४ सय ७१ को बीचमा हुन सक्छ।










प्रतिकृया दिनुहोस्