कालिका। युवाहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्दै स्थानीयस्तरमा रहेका खेल प्रतिभाको पहिचान, विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले कालिका नगरपालिका वडा नं. १ को आयोजनामा जारी वडा स्तरीय फुटबल प्रतियोगिता–२०८३ अन्तर्गत पाँचौं दिनको खेल सम्पन्न भएको छ।
आज सम्पन्न रोमाञ्चक खेलमा कालिका–२ ले कालिका–७ लाई १–० गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको छ।
खेल समारोहका प्रमुख अतिथि चतुर्मुखी सामुदायिक वनका अध्यक्ष हरिकुमार गुरुङले खेलकुदले युवाहरूलाई अनुशासित, स्वस्थ र सक्रिय बनाउनुका साथै स्थानीयस्तरमा लुकेर रहेका प्रतिभालाई उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले यस्ता प्रतियोगिताले युवाहरूबीच आपसी सद्भाव, एकता र भाइचाराको भावना विकास गर्न सहयोग पुर्याउने उल्लेख गर्दै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नगर प्रवक्ता लक्ष्मण पौडेलको उपस्थिति रहेको थियो। त्यस्तै, कालिका–४ का वडा अध्यक्ष एवं सामाजिक विकास संयोजक मकरमान श्रेष्ठ, कालिका–७ का वडा अध्यक्ष कमलराज मोक्तान, वडा सदस्य ओमकार खड्कालगायतको सहभागिता रहेको थियो।
यसैगरी, माथिल्लो भेग गडुवा खानेपानी संस्थाका अध्यक्ष लालबहादुर ख्युल, तल्लो भेग गडुवा खानेपानी संस्थाका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, प्रहरी बिटका इन्चार्ज रामप्रकाश राय यादव तथा जुटपानी गरिबी निवारण साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष खोमबहादुर गुरुङलगायतको उपस्थिति रहेको थियो।

यसैबीच, प्रतियोगितालाई थप प्रोत्साहन प्रदान गर्ने उद्देश्यले राम श्रेष्ठ (इन्डियन) ले प्रतियोगिताका सात दिनसम्म दैनिक ‘म्यान अफ द म्याच’ घोषित हुने खेलाडीलाई प्रतिदिन रु. ५५० नगद पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। यसअनुसार सात दिनका लागि कुल रु. ३ हजार ८५० बराबरको पुरस्कार सहयोग उपलब्ध हुने भएको छ।
कार्यक्रमको सञ्चालन लालीगुराँस टोल विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद घिमिरेले गर्नुभएको थियो।
कार्यक्रमका सभाध्यक्ष एवं कालिका–१ का वडा अध्यक्ष सन्तवीर स्याङदनले खेलकुदमार्फत युवाहरूको प्रतिभा पहिचान, विकास र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउँदै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण खेलाडी, आयोजक, सहयोगी, अतिथि तथा उपस्थित दर्शकहरूलाई धन्यवाद व्यक्त गर्नुभयो।











प्रतिकृया दिनुहोस्