काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीको १७ दिन बितिसक्दा पनि रसुवा, नुवाकोटका जलविद्युत् आयोजनामा सम्पर्कविहीन भएका सयौँ मानिसको अवस्था अझै अज्ञात छ । तीमध्ये केही सुरुङ तथा भूमिगत विद्युत् गृहमा फसेको आशङ्का छ ।
नेपाली सेना, प्रहरी, आयोजनाका कर्मचारी तथा स्वदेशी–विदेशी प्राविधिकको संयुक्त टोलीले जोखिमपूर्ण अवस्थाबिच खोज तथा उद्धार जारी राखेको छ । बाटो र पुल बग्नु, आवश्यक उपकरण घटनास्थलसम्म पुर्याउन कठिन हुनु तथा सुरुङभित्र पानी, लेदो र ढुङ्गामाटोको अवस्था थाहा नहुनुले उद्धार थप जटिल बनेको छ ।
सुरुङभित्र हावा वा सुरक्षित खाली स्थान बाँकी रहेको सम्भावना रहुन्जेल मानिस जीवित रहने आशा पनि बाँकी रहन्छ । यही आशाले १७ दिनपछि पनि उद्धार टोलीलाई सुरुङभित्र प्रवेश गराइरहेको छ ।
यस विपद्ले एउटा कठिन प्रश्न छोडेको छ: सुरुङभित्र फसेका मानिसलाई कति दिनसम्म जीवितै खोज्न सकिन्छ ? वैश्विक उदाहरण हेर्ने हो भने नेपालको सन्दर्भमा जीवित उद्धारको आशा अझै बाँकी छ ।
- विश्वमा भएका उल्लेखनीय उद्धार
१. चिलीमा ६९ दिनपछि ३३ खानी मजदुरको उद्धार
५ अगस्ट २०१० मा चिलीको कोपियापोस्थित सान होसे खानीमा सुरुङ भत्किँदा ३३ जना मजदुर करिब ७०० मिटर गहिराइमा फसे । उद्धारकर्ताले १७ दिनपछि उनीहरू जीवित रहेको पत्ता लगाए । त्यसपछि साँघुरो प्वालमार्फत पानी, खाना, औषधि र सञ्चारका साधन उनीहरूसम्म पुर्याइयो ।
१३ अक्टोबरमा सबै अर्थात् ३३ जनालाई उद्धार क्याप्सुलबाट बाहिर निकालियो । उनीहरू ६९ दिन सुरुङभित्रै बिताएर जीवित उद्धार भएको यो घटना विश्वकै चर्चित खानी उद्धारमध्ये एक हो ।
सुरक्षित स्थान, हावा, पानी र बाहिरबाट निरन्तर सहयोग पुर्याउन सकिएमा लामो समयसम्म मानिसलाई जीवित राख्न सकिन्छ भन्ने दृष्टान्त यस उद्धारले दिएको छ ।
२. थाइल्यान्डको बाढीग्रस्त गुफामा १८ दिन
सन् २०१८ मा १२ जना बाल फुटबल खेलाडी र उनीहरूका प्रशिक्षक बाढीका कारण गुफाभित्र फसे । उनीहरूलाई उद्धार टोलीले नवौँ दिनमा जीवितै रहेको पत्ता लगाएको थियो । उनीहरू पानीले भरिएको गुफाभित्र पानी नपुगेको अग्लो स्थानमा आश्रय लिएर बसेका थिए ।
१८ दिनपछि जोखिमपूर्ण गोताखोरी अभियानमार्फत सबै १३ जनालाई बाहिर निकालियो । त्यसअघि उद्धारकर्ताले उनीहरूलाई खाना, पानी र चिकित्सा सहयोग पुर्याएका थिए ।
बाढीग्रस्त गुफामा पनि पानी नपुगेको सुरक्षित स्थान भेटिएमा र त्यहाँ आधारभूत खाना, पानी र चिकित्सकीय सहायता पुर्याउन सके जीवन बचाउन सकिने उदाहरण यस उद्धारकार्यले देखाएको छ ।
३. भारतमा १७ दिनपछि ४१ श्रमिकको उद्धार
भारतको उत्तराखण्डस्थित सिल्क्यारा–बर्कोट सुरुङमा १२ नोभेम्बर २०२३ मा निर्माणाधीन सुरुङको एक भाग भत्किँदा ४१ जना श्रमिक भित्र फसे । उनीहरूलाई १७ दिनपछि, जीवित उद्धार गरियो । उद्धारका क्रममा पाइपमार्फत श्रमिकसम्म खाना, पानी, औषधि र सञ्चारका साधन पुर्याइएको थियो । विभिन्न प्राविधिक कठिनाइका बाबजुद निरन्तर सम्पर्क र आपूर्तिले उनीहरूलाई जीवित राख्न सहयोग गर्यो ।
यस घटनाले सुरुङको केही भाग भत्किए पनि सुरक्षित ठाउँ र बाहिरबाट सहयोग पुर्याउने सम्भावना भएमा धेरै दिनसम्म बाँच्न सकिन्छ भन्ने उदाहरण पेस गर्छ ।
४. १९६३ मै जर्मनीमा १४ दिनपछि ११ मजदुरको उद्धार
पश्चिम जर्मनीको लेङ्गेडेमा २४ अक्टोबर १९६३ मा खानीमा पानी पसेपछि ठुलो दुर्घटना भयो । केही मजदुर भूमिगत फसे । उद्धारकर्ताले सुरक्षित स्थानमा रहेका ११ जनालाई १४ दिनपछि जीवित बाहिर निकाले ।
उनीहरूलाई बाहिर निकाल्न नयाँ प्वाल खनिएको थियो । थाइल्याण्डको जस्तै यस घटनाले पनि पानी पसेको खानीमा समेत सुरक्षित भागमा आश्रय लिन सकेमा लामो समयसम्म जीवित रहने सम्भावनालाई उजागर गरेको थियो ।
५. अमेरिकामा ७७ घण्टापछि नौ मजदुरको उद्धार
सन् २००२मा अमेरिकाको पेन्सिलभेनियास्थित क्विक्रिक खानीमा पानी पसेपछि नौ जना मजदुर जमिनमुनि फसे । उनीहरूको करिब ७७ घण्टापछि जीवित उद्धार गरियो । यस घटनाले खानीमा पानी पसेपछि समय अत्यन्त महत्त्वपूर्ण हुने देखाउँछ । सुरक्षित स्थान, बाँकी हावा र उद्धारकर्ताले सही स्थान पहिचान गर्न सक्नु जीवन बचाउने प्रमुख आधार बने ।
६. नेपालमा नौ दिनपछि भएको सुरुङ उद्धार
नेपालमा भदौ १० मा आएको बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई नेपाली श्रमिकलाई नौ दिनपछि जीवित उद्धार गरियो । सुरुङभित्र फसेका आयोजनाका कामदार सञ्जय साह र कबिर महर्जनलाई उद्धार गरिएको थियो । उनीहरूले चुहिएको पानी र बाढीको पानी पिएर जीवन जोगाएको बताएका छन् भने उद्धारकर्ताले पुराना नक्सा, भू–उपग्रह तस्बिर र अन्य प्राविधिक सूचनाको सहायताले सुरुङभित्र फसेका श्रमिकको सम्भावित स्थान पहिचान गरेका थिए ।
यस घटनामा सुरुङको प्रवेशमार्ग हिलो र भग्नावशेषले पुरिएको थियो । उद्धार टोली अवरोध हटाउँदै साँघुरो बाटो बनाएर श्रमिकसम्म पुग्न सफल भएका थिए । त्यसैगरि अर्को उद्धारको घटनामा बाढी आएको १० दिनपछि एक चिनियाँ नागरिकको पनि जीवितै उद्धार गरिएको थियो ।
- कति दिनसम्म खोजी तथा उद्धार जारी राख्ने ?
सुरुङभित्र फसेका मानिसलाई खोज्ने कामका लागि कुनै निश्चित ‘अन्तिम समयसीमा’ हुँदैन । हावा, पानी र सुरक्षित आश्रयको सम्भावना रहेसम्म उद्धार अभियान जारी राख्नुपर्छ । उद्धार टोलीले सुरुङको संरचनागत स्थिरता, पानीको स्तर, सम्भावित हावा छिर्ने ग्याप, वैकल्पिक प्रवेशमार्ग र फसेका मानिसको सम्भावित स्थानबारे प्राविधिक मूल्याङ्कन गर्नुपर्छ । आवश्यकताअनुसार ड्रिलिङ, सञ्चार उपकरण, सुरुङका नक्सा र भू–उपग्रह तस्बिरको प्रयोग गर्न सकिन्छ ।
- सुरुङभित्र बाँच्ने आधार र समयलाई प्रभावित पार्ने कुरा
अक्सिजन र हावाः सुरुङमा हावा आउजाउ भइरहेमा मानिस लामो समय बाँच्न सक्छन् । हावा बन्द भएमा अक्सिजन घट्ने र कार्बन डाइअक्साइड बढ्ने जोखिम हुन्छ ।
पानी र डुबानः पानी नपुगेको सुरक्षित स्थान वा हावा आवतजावत गर्न सक्ने स्थलमा आश्रय लिन सकेमा बाँच्ने सम्भावना बढ्छ । तर बाढीको तीव्र बहाव वा डुबानले केही समयमै ज्यान लिन सक्छ । त्यसो त पिउने पानीको अभाव भएमा आश्रयस्थलमा निर्जलीकरणको जोखिम बढ्छ ।
खाना र स्वास्थ्यः खाना नपाए पनि मानिस केही समय बाँच्न सक्छन्, तर पानीको अभाव, गम्भीर चोटपटक, बिरामी अवस्था र अत्यधिक शारीरिक थकानले अवस्थालाई जटिल बनाउन सक्छ ।
तापक्रम र सुरुङको अवस्थाः अत्यधिक चिसो वा गर्मी, विषालु ग्यास, आगलागी तथा थप पहिरो वा चट्टान खस्ने जोखिमले फसेका मानिस तथा उद्धारकर्मीलाई पनि जटिल अवस्थामा धकेल्न सक्छ ।
चिलीमा ६९ दिन, थाइल्यान्डमा १८ दिन, भारतमा १७ दिन र नेपालमा नौ दिनपछि जीवित उद्धार भएका उदाहरण छन् । यी घटनाले सुरुङभित्र फसेका मानिसलाई लामो समयपछि पनि जीवित भेट्न सकिने देखाउँछन् ।
तर यस्तो खालको खोजीकार्यको कुनै निश्चित समयसीमा छैन । सुरुङभित्रको हावा, पानी, तापक्रम, सुरक्षित स्थान, चोटपटक र संरचनाको अवस्थाले बाँच्ने सम्भावना निर्धारण गर्छ । विगतका विश्वव्यापी उद्धार घटनाले पनि लामो समयसम्म भूमिगत संरचनामा फसेका मानिसलाई जीवित उद्धार गर्न सकिने दे
खाएका छन् । चिलिमे, रसुवागढी, लाङटाङ, माथिल्लो त्रिशूली–१, त्रिशूली–३ ‘ए’ लगायतका आयोजनामा जारी खोजी त्यसैको अर्को परीक्षा हो । अहिले सिङ्गो मुलुक चिलिमेमा भइरहेको अथक उद्धार प्रयासले पनि छिटोभन्दा छिटो सुखद् समाचार ल्याओस् भन्नेमा लालयित छ ।








प्रतिकृया दिनुहोस्