वासिङ्टन डीसी। इरानसँगको तनाव उत्कर्षमा पुगेका बेला अमेरिकाको सैन्य हतियार भण्डार (गोलाबारुद) घट्दै गएको विवरण सार्वजनिक भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्प गम्भीर रूपमा रुष्ट बनेका छन्। महत्त्वपूर्ण मोडमा यस्ता संवेदनशील विवरण बाहिरिँदा अमेरिका कमजोर देखिने भन्दै ट्रम्पले असन्तुष्टि जनाएका हुन्।
क्याम्प डेभिडमा आयोजित मन्त्रिपरिषद्को बैठकमा राष्ट्रपति ट्रम्पले सञ्चारमाध्यममा आएका समाचारप्रति तीव्र आक्रोश व्यक्त गरेका थिए। हतियार भण्डारको स्थितिबारे आफू पहिलेदेखि नै जानकार रहेको तर रणनीतिक समयमा सूचना चुहावट (लिक) हुनु पछाडि प्रशासनभित्रकै युद्धविरोधी अधिकारीहरूको हात हुनसक्ने आशङ्का गरिएको छ।
ट्रम्पले यस्तो सूचना बाहिर ल्याउनेहरूलाई “देशद्रोही” को संज्ञा दिँदै न्याय मन्त्रालयलाई उनीहरूमाथि कडा कारबाही र दीर्घकालीन जेल सजायको प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेका छन्।
क्षेप्यास्त्र र हवाई सुरक्षा प्रणालीमा उच्च गिरावट
हालै सार्वजनिक विवरणअनुसार इरानसँगको युद्ध सुरु भएयता अमेरिकाले आफ्नो थाड क्षेप्यास्त्र भण्डारको करिब चार-पाँचौँ हिस्सा र प्याट्रियट इन्टरसेप्टरको आधा भाग प्रयोग गरिसकेको छ। युद्धअघि अमेरिकासँग करिब २,२०० प्याट्रियट र ४५२ वटा थाड क्षेप्यास्त्र रहेको अनुमान थियो।
हतियारको यो कमीले अमेरिकी सैन्य अधिकारीहरूलाई मात्र नभई खाडी मुलुकका नेताहरूलाई समेत चिन्तित बनाएको छ। अमेरिकी हवाई सुरक्षा प्रणालीमा निर्भर रहेका खाडी राष्ट्रहरूले इरानबाट हुनसक्ने सम्भावित जवाफी हमला रोक्न कठिन हुने भन्दै चिन्ता व्यक्त गरेका छन्। इरानले पनि पुनः हमला भए खाडी क्षेत्रका ऊर्जा र खानेपानी प्रशोधन केन्द्रहरूलाई निशाना बनाउने चेतावनी दिइसकेको छ।
उत्पादन बढाउन रक्षा कम्पनीहरूलाई निर्देशन
सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै ट्रम्पले अमेरिकामा अझै पनि ठूलो परिमाणमा हतियार रहेको र रक्षा कम्पनीहरूले इतिहासकै ठूलो मात्रामा कारखानाहरू विस्तार गरिरहेको दाबी गरेका छन्। यद्यपि, ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले केही आधुनिक हतियारहरूको आपूर्ति साँगुरिएको स्वीकार गरे।
उनले अघिल्लो बाइडन प्रशासनले युक्रेनलाई ठूलो परिमाणमा हतियार सहयोग गरेकाले अमेरिकी भण्डारमा कमी आएको आरोप समेत लगाएका छन्।
अवस्थालाई नियन्त्रणमा लिन ट्रम्पले ‘डिफेन्स प्रोडक्सन एक्ट’ लागू गर्दै रक्षा ठेकेदारहरूलाई हतियार उत्पादन तीव्र पार्न निर्देशन दिएका छन्। तर, विज्ञहरूका अनुसार यो उत्पादन क्षमता बढाउन वर्षौँ लाग्न सक्छ, जसले गर्दा तत्कालको सङ्कट टार्न सहज हुने देखिँदैन।






प्रतिकृया दिनुहोस्