कठमाडौं। अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डहरू ठप्प भएका छन्। नेपाल प्रहरीले आज बिहान ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै पहिरो, सडक कटान र बाढीको जोखिमका कारण देशभरका एक दर्जनभन्दा बढी प्रमुख सडकखण्ड प्रभावित भएको जनाएको छ।
प्रहरीका अनुसार बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडकखण्डमा बाढीको उच्च जोखिम रहेकाले साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
उक्त खण्डमा बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म मात्र सवारी चलाउन दिइनेछ। यस्तै, कान्ति लोकपथमा पनि वर्षाका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
त्यसैगरी, अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै सडक भासिएकाले आवतजावत पूर्ण रूपमा ठप्प भएको छ। लामासाँघु-रामेछाप सडकखण्डको दोलखास्थित किर्नेटारमा सामाकोशी खोलाले सडक बगाएपछि यातायात प्रभावित भएको छ, जहाँ हाल खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको परिसर हुँदै वैकल्पिक मार्ग प्रयोगमा ल्याइएको छ।
मेची राजमार्गको इलामस्थित राजदुवालीमा सडक हिलाम्मे भएपछि यातायात अवरुद्ध भए पनि वैकल्पिक मार्ग सञ्चालनमा छ। उता म्याग्दीको बैसेरी र भिरकाटे तथा मुस्ताङको कैकु खोलामा पहिरो जाँदा बेनी-जोमसोम सडकखण्ड विभिन्न स्थानमा थप्प बनेको छ।
यसैगरी, रसुवाको पासाङ ल्हामु सडक, मुगुको नाग्म-गमगढी सडक, बागलुङको कालीगण्डकी करिडोर (बेलबगर), रुकुम पश्चिमको भेरी करिडोर (रिजेगार्ड) र गुल्मीको मदन भण्डारी सडकखण्ड (लेख) मा सुक्खा पहिरो खस्दा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको प्रहरीले जनाएको छ।
वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम कायमै रहेकाले यात्रामा निस्कनुअघि सम्बन्धित निकाय वा प्रहरीसँग सडकको अवस्थाबारे पूर्वजानकारी लिएर मात्र यात्रा तय गर्न प्रहरीले सर्वसाधारणसँग अनुरोध गरेको छ।






प्रतिकृया दिनुहोस्