काठमाडौँ – फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई पराजित गरेपछि फाल्कल्यान्ड टापुको दाबीसहितको ब्यानर प्रदर्शन गरेको भन्दै साविक विजेता अर्जेन्टिना विवादमा तानिएको छ । ब्यानरकै कारण फिफाको कारबाहीमा पर्ने सम्भावना बढेको छ।
अमेरिकाको एटलान्टामा बुधबार भएको रोमाञ्चक खेलमा थोमस टुचेलको इङ्ल्यान्डलाई २–१ ले हराउँदै अर्जेन्टिना फाइनल पुगेको हो। तर, खेल सकिएलत्तै अर्जेन्टिनी खेलाडीले मैदानमा फाल्कल्यान्ड अर्जेन्टिनाको हो लेखिएको ब्यानर बोकेर जितको खुसीयाली मनाएका थिए।
दक्षिण–पश्चिम एट्लान्टिक महासागरमा रहेको बेलायती विदेशी क्षेत्र फाल्कल्यान्ड टापुलाई लिएर बेलायत र अर्जेन्टिनाबीच लामो समयदेखि सार्वभौमसत्ताको विवाद छ। सन् १९८२ मा यही टापुलाई लिएर दुई देशबीच ७४ दिन लामो युद्ध भएको थियो, जसमा ६ सय ५५ अर्जेन्टिनी र २ सय ५५ बेलायती सैनिकले ज्यान गुमाएका थिए।
फिफाले खेलकुदमा राजनीतिक सन्देश र उच्छृङ्खल गतिविधिलाई पूर्ण प्रतिबन्ध लगाएको छ। यसअघि सन् २०१४ मा स्लोभेनियाविरुद्धको मैत्रीपूर्ण खेलअघि यस्तै ब्यानर प्रदर्शन गर्दा फिफाले अर्जेन्टिनी फुटबल संघलाई २० हजार पाउन्ड जरिवाना गरेको थियो।
राजनीतिक तनावका कारण यो खेलमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। खेलअघि अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले फुटबल र राजनीतिलाई मिसाउन नहुने बताएका थिए। यद्यपि, जितपछि अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया भिलार्रुएलले सामाजिक सञ्जाल एक्समा ‘यो सामान्य खेल मात्र थिएन’ भन्दै ब्यानर प्रदर्शनको बचाउ गरेकी छन्।





प्रतिकृया दिनुहोस्