काठमाडौँ – कुशल भुर्तेलको शतकीय इनिङ्स र हेमन्त धामीको धारिलो बलिङमा नेपालले जर्सीविरुद्धको पहिलो एकदिवसीय खेलमा ८१ रनको सानदार जित हात पारेको छ ।
जर्सी भ्रमणमा रहेको नेपाली टोलीले दिएको २ सय ५१ रनको लक्ष्य पछ्याएको घरेलु टोली जर्सी ४१ ओभरमा १ सय ६९ रनमा अलआउट भएको हो । जर्सीका लागि मध्यक्रमका ब्याट्सम्यान चार्ली ब्रेननले ८२ रनको उत्कृष्ट इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसक्दा जर्सी सस्तैमा समेटियो
।
जर्सीलाई रोक्ने क्रममा नेपालका तीव्र गतिका बलर हेमन्त धामीले ४ विकेट लिए । आरिफ शेखले ३, करण केसीले २ र सन्दीप लामिछानेले १ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५० रनको योगफल खडा गरेको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले १ सय ५ रनको शतकीय योगदान दिए । त्यस्तै भीम सार्कीले ३९ रन बनाउँदा नवौं नम्बरमा आएका हेमन्त धामीले १९ रनको अविजित पारी खेलेका थिए ।
अन्य ब्याट्सम्यानमा आसिफ शेखले १६, कप्तान रोहित पौडेलले १५, आरिफ शेखले ११ र ईशान पाण्डेले १ रन जोडेका थिए ।
नेपालले जर्सी भ्रमणअन्तर्गत बुधबार दोस्रो तथा अन्तिम एकदिवसीय खेल खेल्नेछ ।





प्रतिकृया दिनुहोस्