काठमाडौँ – साढे दुई घण्टासम्म अवरुद्ध भएको खेलमा इराकलाई ३–० ले स्तब्ध पार्दै फ्रान्स विश्वकपको अन्तिम ३२ (नकआउट चरण) मा प्रवेश गरेको छ ।
फ्रान्सका लागि केलियन एमबाप्पेले दुई गोल गरेका छन् । खराब मौसमका कारण दुई घण्टासम्म रोकिएर पुनः सुरु भएको खेलमा फ्रान्सले उत्कृष्ट प्रदर्शन गर्दै लगातार दोस्रो जित निकाल्दै अन्तिम ३२ मा स्थान सुरक्षित गरेको हो ।
खेलको सुरुवाती समयमै फ्रान्सले अग्रता लिएको थियो । एमबाप्पेले देशका लागि १०० औँ खेल खेल्ने क्रममा उत्कृष्ट गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए। एमबाप्पेले पहिलो गोल खेलको १४ मिनेटमा गरेका हुन् ।पहिलो हाफ सकिएलत्तै मौसम खराब भएपछि खेल दुई घण्टाका लागि स्थगित गरिएको थियो । मौसम सुधारिएर खेलको दोस्रो हाफ सुरु भएपछि इराकले रक्षात्मक रणनीति अपनाए पनि फ्रान्सको आक्रमणलाई रोक्न सकेन । एमबाप्पेले व्यक्तिगत दोस्रो गोल खेलको ५४ मिनेटमा गरेका हुन् ।
त्यसपछि ओसमान डेम्बेलेले टोलीका लागि ६६ मिनेटमा तेस्रो गोल थपे । डेम्बेलेको कुनै पनि ठुलो अन्तर्राष्ट्रिय प्रतियोगितामा यो पहिलो गोल हो।
यसअघि आफ्नो पहिलो खेलमा फ्रान्सले सेनेगललाई पराजित गरेको थियो भने इराक नर्वेसँग पराजित भएको थियो । यो हारसँगै इराक समूह चरणबाट बाहिरिएको छ ।







प्रतिकृया दिनुहोस्