काठमाडाैं। प्रथम पीएल सिंह मेमोरियल टी-२० कप क्रिकेट प्रतियोगिताअन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलहरूमा काठमाडौं र ललितपुर महानगरपालिका आ-आफ्नो खेल जित्दै विजयी भएका छन्।
आइतबार सम्पन्न चौथो खेलमा काठमाडौं महानगरपालिकाले वीरगन्ज महानगरपालिकालाई पराजित गर्यो भने पाँचौँ खेलमा ललितपुर महानगरपालिकाले भरतपुर महानगरपालिकामाथि रोमाञ्चक जित दर्ता गर्यो।
पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको वीरगन्ज महानगरपालिकाले वर्षाका कारण १५ ओभरमा छोट्याइएको खेलमा ८ विकेट गुमाउँदै १११ रनको योगफल तयार पारेको थियो। वीरगन्जका लागि अर्निको प्रसाद यादवले सर्वाधिक २९ रन, रूपेश कुमार सिंहले अविजित २६ रन र अनिल कुमार साहले २२ रनको योगदान दिए।
वीरगन्जलाई सस्तैमा समेट्ने क्रममा काठमाडौंका बलर नितेश कुमारले उत्कृष्ट बलिङ गर्दै ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए. ११२ रनको लक्ष्य पछ्याएको काठमाडौं महानगरले मात्र १२ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य भेट्टायो।
काठमाडौंका रिञ्जिन लामाले ४४ रनको आक्रामक इनिङ खेले भने सोनु देवकोटाले ३४ रन र इसान पाण्डेले २१ रन बनाए. बलिङ र ब्याटिङ दुवै क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका काठमाडौंका सोनु देवकोटा खेलको ‘प्लेयर अफ दि म्याच’ घोषित भए।
आइतबारकै दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भरतपुर महानगरपालिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७६ रनको बलियो योगफल खडा गरेको थियो। भरतपुरका लागि सुर्यान्शु कोइरालाले ५२ रनको अर्धशतकीय इनिङ खेले भने शुभ कंसाकारले २१ रन र गौतम केसीले १८ रन जोडे।
बलिङतर्फ ललितपुरका गणेश गौतमले ३ विकेट र विधान खतिवडाले २ विकेट लिए। १७७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको ललितपुर महानगरले १९.१ ओभरमा ६ विकेट गुमाउँदै ५ बल बाँकी छँदै रोमाञ्चक जित दर्ता गर्यो।
ललितपुरको जितमा मध्य क्रमका ब्याटर विपिन आचार्यले ५३ बलमा अविजित ८२ रनको म्याच विनिङ इनिङ खेले भने सक्रिय प्रताप कार्कीले अविजित ३९ रन र सचिन लेखकले ३३ रनको योगदान दिए। भरतपुरका शुभ कंसाकारले ३ विकेट लिए पनि टोलीको हार टार्न सकेनन् र उत्कृष्ट ब्याटिङ गरेका ललितपुरका विपिन आचार्य खेलको ‘प्लेयर अफ दि म्याच’ चुनिए।
प्रतियोगिताअन्तर्गत आज सोमबार बिहान ९ बजे पोखरा महानगरपालिका र काठमाडौं महानगरपालिकाबीच तथा दिउँसो १ बजे पोखरा महानगरपालिका र विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ।







प्रतिकृया दिनुहोस्