मियामी – पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले आफ्नो सनसनीपूर्ण प्रदर्शनलाई जारी राख्दै दुई पटकको पूर्वविजेता उरुग्वेलाई रोमाञ्चक बराबरीमा रोकेको छ। मियामीमा सोमबार बिहान सम्पन्न समूह ‘एच’ को खेलमा केप भर्डेले उरुग्वेसँग २-२ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो।
आफ्नो पहिलो खेलमा बलियो स्पेनलाई गोलरहित बराबरीमा रोकेर सबैलाई आश्चर्यमा पारेको केप भर्डेले खेलको २१ औं मिनेटमै खेलमा अप्रत्याशित अग्रता लिएको थियो। केभिन पिनाले करिब ३० यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक उरुग्वेको डिफेन्सिभ वालको बीचबाट छिर्दै गोलमा परिणत भएको थियो।
अग्रतापछि आक्रामक बनेको केप भर्डेको डिफेन्समा कमजोरी देखिन थाल्यो, जसको फाइदा उरुग्वेले उठायो। डिफेन्डर सिड्नी लोपेस काब्रालले आफ्नै पोस्टतर्फ क्लियर गर्न खोजेको बललाई म्याक्सी अराउजोले डाइभिङ हेडरमार्फत गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। पहिलो हाफको इन्जुरी समयमा अगस्टिन कानोबियोले प्रहार गर्दै उरुग्वेलाई २-१ को अग्रता दिलाए।दोस्रो हाफमा उरुग्वेको बलियो ‘प्रिन्टिङ गेम’ का सामु केप भर्डेलाई बल अघि बढाउन कठिन भइरहेको थियो। तर, उरुग्वेको डिफेन्समा भएको एउटा गम्भीर गल्तीको फाइदा उठाउँदै केप भर्डले खेलमा पुनरागमन गर्यो। उरुग्वेका म्याथियास ओलिभेराले आफ्नै पेनाल्टी बक्समा दिएको गलत पासलाई केप भर्डेका हेलियो वारेलाले खोस्दै गोलकिपरलाई छलाएर बललाई खाली पोस्टको दिशा दिए।खेलको अन्त्यतिर उरुग्वेका स्टार फेडरिको भाल्भर्डेले गोल गरे पनि भिडियो असिस्टेन्ट रेफ्रीले त्यसलाई अफसाइड घोषित गरिदिएपछि उरुग्वे जितबाट विमुख भयो। इन्जुरी समयमा दुवै टोलीले गोलका केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन्।यो बराबरीसँगै समूह ‘एच’ मा दुई खेलबाट समान २ अंक जोडेका उरुग्वे दोस्रो र केप भर्ड तेस्रो स्थानमा छन्। अब केप भर्डले समूह चरणको अन्तिम खेलमा साउदी अरेबियाको सामना गर्नेछ भने उरुग्वेले बलियो स्पेनविरुद्ध खेल्नेछ। दुवै टोलीका लागि नकआउट (अन्तिम ३२) मा पुग्न अन्तिम खेल निर्णायक हुनेछ।







प्रतिकृया दिनुहोस्