काठमाडौँ – केलियन एमबाप्पेले दुई गोल गर्दै नयाँ कीर्तिमान कायम गरेपछि साविक उपविजेता फ्रान्सले फिफा विश्वकपमा विजयी सुरुवात गरेको छ । समूह ‘आई’ अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोल अन्तरले पराजित गर्दै तेस्रो पटक विश्वकप उपाधि जित्ने आफ्नो अभियानलाई बलियो बनाएको हो ।
खेलको पहिलो हाफमा निकै संघर्ष गरेको फ्रान्सले दोस्रो हाफमा उत्कृष्ट पूनरागमन गर्यो । खेलको ६६ औं मिनेटमा ओलिसेको उत्कृष्ट पासलाई सदुपयोग गर्दै रियल मड्रिडका स्टार एमबाप्पेले फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि मैदान प्रवेश गरेका पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राड्ले बारकोलाले खेलको अन्तिम समयमा गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे ।
इन्जुरी समयमा सेनेगलका इब्राहिम म्बायेले एक गोल फर्काउँदै खेललाई २–१ को स्थितिमा ल्याए पनि ९६ औं मिनेटमा एमबाप्पेले लामो दूरीबाट उत्कृष्ट गोल गर्दै फ्रान्सको ३–१ को जित निश्चित गरे ।
एमबाप्पेको कीर्तिमानी यात्रा
आफ्नो देशका लागि ९९ औं खेल खेलिरहेका २७ वर्षीय एमबाप्पेले यो खेलसँगै फ्रान्सका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा गरेका छन् । उनको अन्तर्राष्ट्रिय गोल संख्या ५८ पुगेको छ ।
यस्तै, विश्वकपमा उनको कुल गोल संख्या १४ पुगेको छ । यस क्रममा उनले ब्राजिलियन लिजेन्ड पेले (१२ गोल), अर्जेन्टिनाका लियोनल मेस्सी (१३ गोल) र फ्रान्सकै जुस्ट फोन्टेन (१३ गोल) को कीर्तिमानलाई पछि पारेका छन् । विश्वकपमा सर्वाधिक गोल गर्ने जर्मनीका गर्ड मुलरसँग बराबरी गरेका एमबाप्पे अब ब्राजिलका रोनाल्डो (१५ गोल) र जर्मनीका मिरोस्लाभ क्लोज (१६ गोल) भन्दा मात्र पछि छन् ।
यसअघि सन् २०१८ को विश्वकप फाइनलमा गोल गरेका र २०२२ को फाइनलमा अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गरेका एमबाप्पेको विश्वकपमा उत्कृष्ट लय यो खेलमा पनि जारी रह्यो ।
सन् २००२ को विश्वकपमा साविक विजेताको रूपमा मैदान उत्रिएको फ्रान्स पहिलो खेलमै सेनेगलसँग १–० ले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको थियो । उपाधिको बलियो दाबेदार मानिएको फ्रान्सले अब अर्को खेलमा इराकसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेलमा नर्वेको सामना गर्नेछ ।







प्रतिकृया दिनुहोस्