काठमाडौँ – विश्व फुटबल इतिहासमै पहिलोपटक तीन देश (अमेरिका, क्यानडा र मेक्सिको) का सहरमा आयोजना हुन लागेको यो प्रतियोगितामा ४८ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्।
यसपटकको विश्वकप मैदानभित्रको फुटबलमा मात्र सीमित नभएर संगीत, मनोरञ्जन र ग्ल्यामरको उत्सव बन्ने भएको छ। फिफाले इतिहासमै पहिलोपटक तीन फरक राष्ट्रमा आयोजना गर्न लागेको उद्घाटन समारोहमा विश्वचर्चित सांगीतिक स्टार साकिरादेखि बलिउडकी ‘डान्स क्विन’ नोरा फतेहीसम्मले आफ्नो प्रस्तुति दिने तय भएको छ।
बिहीबार राति मेक्सिकोको प्रतिष्ठित एज्टेका रङ्गशालामा हुने पहिलो उद्घाटन समारोहको मुख्य आकर्षण ‘वाका वाका’ फेम गायिका साकिरा बन्नेछिन्। उनीसँगै जे बाल्विन, रयान कास्त्रो र स्थानीय कलाकारहरूले मेक्सिको सिटीमा सांगीतिक धुम मच्चाउने छन्। आयोजक देशको तर्फबाट हलिउड अभिनेत्री सलमा हायेक पिनाउल्टले विश्वभरका समर्थकलाई स्वागत गर्दै फुटबलको एकताको सन्देश प्रवाह गर्नेछिन्।
यसैगरी शुक्रबार बिहान अमेरिकाको लस एन्जलसमा आयोजना हुने ९० मिनेट लामो भव्य समारोहमा विश्वप्रसिद्ध गायिका क्याटी पेरी, अनित्ता, लिसा, रेमा र टाइलाले आफ्नो प्रस्तुति पस्कने छन्। फिफा अध्यक्ष जियानी इन्फान्टिनोका अनुसार अमेरिकामा हुने उद्घाटन समारोहले त्यहाँको सांस्कृतिक विविधता, आप्रवासी समुदायको जीवन्तता र संगीतको वैश्विक शक्तिलाई उजागर गर्नेछ।
क्यानडाको स्टेजमा नोराको जादु
यसैगरी सह-आयोजक राष्ट्र क्यानडामा हुने उद्घाटन समारोहमा बलिउडकी स्थापित डान्सर तथा अभिनेत्री नोरा फतेहीको विशेष प्रस्तुति रहनेछ। कतार विश्वकपको एन्थम सङमा देखिएकी नोराले यसपटक क्यानडाको स्टेजमा आफ्नो नृत्यको जादु छर्नेछिन्। उनीसँगै अलानिस मोरिसेट, एलेस्सिया कारा, माइकल बबल र विलियम प्रिन्स जस्ता अन्तर्राष्ट्रिय स्टारहरूले क्यानडाको ओपनिङ समारोहलाई अविस्मरणीय बनाउनेछन्।
उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दै
सांगीतिक रौनकका बीच मैदानमा भने पहिलो खेल आयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीच हुनेछ। मेक्सिको सिटीमा हुने यो खेलअघि आयोजक राष्ट्रका अलेक्जान्द्रो फर्नान्डिजले मेक्सिकोको र टाइलाले दक्षिण अफ्रिकाको राष्ट्रगान गाउनेछन्। समूह ‘ए’ अन्तर्गतकै अर्को खेलमा चेक गणतन्त्र र दक्षिण कोरिया आमने-सामने हुँदैछन्। दक्षिण कोरियाली टोलीको कप्तानी अमेरिकी मेजर लिग खेलिरहेका स्टार सन ह्युङ मिनले गर्नेछन्।







प्रतिकृया दिनुहोस्