काठमाडौँ – विश्वकप फुटबलको ९६ वर्षको इतिहासमा अहिलेसम्म ४० वर्ष वा त्यसभन्दा बढी उमेरका केवल सात खेलाडीले मात्र मैदानमा खेल्ने अवसर पाएका छन्। फिफा विश्वकप फुटबलमा २०२६ मा उक्त सूचीमा कम्तीमा पाँच खेलाडी थपिने सम्भावना छ।
अहिलेसम्म आयोजित विश्वकपमा सहभागी सबैभन्दा पाका खेलाडी इजिप्टका एसाम एल हदारी हुन्। सन् २०१८ को विश्वकपमा आफ्नो नाममा कीर्तिमान रच्दा उनी ४५ वर्ष १६१ दिनका थिए। समूह चरणमा साउदी अरबविरुद्धको खेलमा मैदान प्रवेश गर्दै गोलरक्षक हदारीले त्यसअघिको रेकर्डलाई दुई वर्षभन्दा बढीले भङ्ग गरेका थिए। उक्त खेलमा इजिप्ट साउदी अरबसँग २–१ ले पराजित भएको थियो।
शीर्ष स्थानमा रहेका पाका खेलाडी सबै जना ३९.५ वर्षभन्दा बढी उमेरका छन्। एसाम एल हदारी, फारिद मोन्द्रागोन, रोजर मिला र प्याट जेनिङ्स मात्रै ४१ वर्षको उमेर कटिसकेपछि पनि कम्तीमा एक पटक विश्वकपमा सहभागी भएका खेलाडी हुन्।यसपालि विश्वकपमा सहभागी टोलीमध्ये स्कटल्यान्डका गोलरक्षक क्रेग गोर्डन सबैभन्दा पाका खेलाडी हुन्। उनी ४३ वर्षका भए। स्कटल्यान्ड २८ वर्षपछि विश्वकपमा छनोट भएको हो। गोर्डनले यसपालि खेल्ने अवसर पाए भने उनी विश्वकप इतिहासकै दोस्रो पाका खेलाडी बन्नेछन्।
पोर्चुगलका ४१ वर्षे कप्तान क्रिस्टियानो रोनाल्डोले यसपालि छैटौँ पटक विश्वकप खेल्न लागेका छन्। अर्जेन्टिनाका लियोनेल मेसी र रोनाल्डो दुवैले छ वटा विश्वकप खेलेर नयाँ कीर्तिमान बनाउनेछन्। रोनाल्डो उमेरका आधारमा पनि ज्येष्ठ खेलाडीको सूचीमा पर्नेछन्।
यसैगरी, जापानका ३९ वर्षीय डिफेन्डर युतो नागातोमो पनि यो प्रतियोगिताका पाका खेलाडीमध्ये एक हुनेछन्। बोस्निया–हर्जगोभिनाका स्ट्राइकर एडिन जेको, जर्मनीका गोलरक्षक मानुएल नोयर र क्रोएसियाका मिडफिल्डर लुका मोड्रिच तीनै जना ४० वर्ष नाघिसकेका छन्। उनीहरूले यसपालि विश्वकपमा खेल्ने निश्चित मानिएको छ।
पहिलो पटक विश्वकपमा सहभागी हुन लागेको केप भर्डका गोलरक्षक भोजिन्या प्रतियोगिता आरम्भ हुनुअघि ४० वर्ष पुग्नेछन्। प्रतियोगितामा खेल्ने अवसर पाए उनी पनि पाका खेलाडीको सूचीमा समेटिनेछन्।
विश्वकप खेलेका १० पाका खेलाडी
एसाम एल हदारी (इजिप्ट)– ४५ वर्ष
फारिद मोन्द्रागोन (कोलम्बिया)– ४३ वर्ष
रोजर मिला (क्यामरुन)– ४२ वर्ष
प्याट जेनिङ्स (नर्दन आयरल्यान्ड)– ४१ वर्ष
पिटर शिल्टन (इङ्गल्यान्ड)– ४० वर्ष
डिनो जोफ (इटाली)– ४० वर्ष
अली बुम्निलेज (ट्युनिसिया)– ४० वर्ष
जिम लेटन (स्कटल्यान्ड) – ३९ वर्ष
डेभिड जेम्स (इङ्गल्यान्ड) – ३९ वर्ष
एतिबा हचिन्सन (क्यानडा) – ३९ वर्ष







प्रतिकृया दिनुहोस्