काठमाण्डौ – नेपाल आईसीसी महिला च्यालेन्ज ट्रफीको आफ्नो पहिलो खेलमा अमेरिकासँग ४४ रनले पराजित भएको छ ।
रुवान्डामा हिजो भएको खेलमा १२४ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ७९ रनमा समेटियो । नेपालका ओपनर विन्दु रावल र कविता जोशीबाहेक अन्य खेलाडीले दोहोरो अङ्क बनाउन सकेनन् । ३६ रन जोड्दा नेपालले ६ विकेट गुमाइसकेको थियो ।
त्यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २३ रन बनाएको थियो । अमेरिकाका लागि पूजा गणेशले सर्वाधिक ४७ रन जोडिन् । गार्गी भोग्लेले ३४ र चेतना पागड्यालाले ३० रन बनाइन् ।
अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ नेपालकी मनिषा उपाध्यायले २ विकेट लिँदा कविता कुँवर र रीता सर्नाले समान १/१ विकेट लिए ।
प्रतियोगितामा नेपाल र अमेरिकासहित इटाली, रुवान्डा र भानुआतु छन् । सबै टोलीले एक अर्कासँग दुई पटक खेल्नेछन् । अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।
हिजोदेखि शुरू भएको प्रतियोगिता वैशाख १८ गतेसम्म चल्नेछ । आईसीसीले पहिलो पटक यो प्रतियोगिता आयोजना गरेको हो ।





प्रतिकृया दिनुहोस्