चितवन — सीमान्तकृत महिलाहरूलाई कृषि उत्पादनसँग जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले चितवनका खैरहनी र कालिका नगरपालिकामा मौसमी तथा बेमौसमी तरकारी खेतीसम्बन्धी तालिम सञ्चालन गरिएको छ। महिलाहरूलाई खेतीसम्बन्धी ज्ञान, सीप र व्यावहारिक अनुभव प्रदान गर्दै घरायसी कामसँगै उत्पादन तथा आयआर्जनका गतिविधिमा जोड्ने लक्ष्यसहित तालिम सञ्चालन गरिएको हो।

नेपाल दलित महिला उत्थान संघ (एडवान) को आयोजनामा, स्थानीय पालिकाको समन्वयमा सञ्चालित तालिमले सीमान्तकृत महिलाहरूको जीविकोपार्जन सुधार, आर्थिक सशक्तीकरण तथा उत्पादनमूलक गतिविधिमा सहभागिता बढाउने लक्ष्य राखेको छ।
खैरहनी नगरपालिकाका नगर प्रमुख शशिकुमार खनियाले एडवान संस्थाले निरन्तर समुदायमा काम गर्दै आएको र तालिममा सहभागी छनोट प्रक्रिया पनि राम्रो रहेको बताए। सीमित बजेटबाट समेत उपलब्धिमूलक काम भएको उल्लेख गर्दै उनले उत्पादन, सामूहिक एकता र कृषि गतिविधिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
कृषि उत्पादनका लागि मागमा आधारित विभिन्न तालिम सञ्चालन गर्न नगरपालिका तयार रहेको नगर प्रमुख खनियाले बताए। विपन्न परिवारलाई खेतीका लागि जग्गा उपलब्ध गराउने नीतिअनुसार नगरपालिकाले जग्गा व्यवस्थापनमा सहयोग गर्ने नीति तथा बजेट रहेको भए पनि त्यसको उपयोग गर्ने संख्या कम रहेको उल्लेख गर्दै उनले किसानलाई अर्गानिक खेतीतर्फ अग्रसर हुन आग्रह गरे।

कालिका नगरपालिका वडा नम्बर ४ मा सञ्चालित तालिमको समापन कार्यक्रममा नगर उपप्रमुख विमला तामाङले महिलाहरूलाई तालिमबाट सिकेको सीप व्यवहारमा उतार्दै उत्पादन र आयआर्जनमा जोडिन आग्रह गरिन्। महिलाहरू आर्थिक रूपमा सक्षम बन्न सके परिवार तथा समाजको आर्थिक अवस्था सुधारमा समेत योगदान पुग्ने उनको भनाइ थियो।
कालिका नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष मकरमान श्रेष्ठले महिलाहरूको आर्थिक सशक्तीकरणका लागि कृषि तथा उत्पादनमूलक गतिविधि महत्त्वपूर्ण रहेको बताए। तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गर्दै महिलाहरू उत्पादनमूलक काममा अग्रसर हुनुपर्नेमा जोड दिँदै उनले स्थानीय स्तरबाट आवश्यक सहयोग र सहजीकरण गर्नुपर्ने बताए।

खैरहनी नगरपालिका वडा नम्बर ३ की वडा सदस्य प्रज्वला कुमारी घिमिरेले महिलाहरू समूह निर्माण गरी सामूहिक खेतीतर्फ अग्रसर भएकोमा खुसी व्यक्त गरिन्। घरायसी कामबाट बाँकी समयलाई उत्पादन र आयआर्जनमा उपयोग गर्न सके जीविकोपार्जन सहज हुने भन्दै उनले महिलाहरूलाई खेतीमा लाग्न प्रोत्साहित गरिन्। आवश्यक सहयोगका लागि वडा कार्यालय तयार रहेको उनको भनाइ थियो।
खैरहनी नगरपालिकाकी कृषि अधिकृत सृजना श्रेष्ठले यस्ता तालिमले किसान र कृषि शाखाबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न सहयोग पुग्ने बताइन्। तालिममा सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिँदै उनले खेतीपातीका क्रममा समस्या आए कृषि शाखाले सहजीकरण गर्ने बताइन्। आवश्यक परे प्राविधिक टोली किसानको खेतमै पुगेर सहयोग गर्ने उल्लेख गर्दै उनले नगर र किसानबीचको सम्बन्धलाई थप मजबुत बनाउन तालिमले भूमिका खेलेको बताइन्।
कृषि विज्ञ तथा प्रशिक्षक शिवराज पौडेलले सहभागी महिलाहरूलाई तरकारी खेती प्रविधि, खेती व्यवस्थापन, उत्पादन वृद्धि तथा व्यावहारिक कृषि सीपसम्बन्धी प्रशिक्षण दिएका थिए। तालिमको उपयोगिताबारे शारदा गुराउले जानकारी दिँदै महिलाहरू सामूहिक खेतीतर्फ अग्रसर हुनुपर्नेमा जोड दिइन्। तालिमबाट सिकेका सीपलाई व्यवहारमा उतार्न आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्।
खैरहनी नगरपालिकामा सञ्चालित तालिममा सहभागी कविता कुसुवारले तालिमले महिलालाई आत्मनिर्भर बन्न प्रेरणा दिएको बताइन्। घरायसी काम सम्पन्न गरेर पनि महिलाले आयआर्जनका गतिविधिमा संलग्न हुन सक्ने भन्दै तालिमबाट सिकेका सीपलाई व्यवहारमा लागू गरी समाजमा उदाहरणीय बन्ने साहस बढेको उनको भनाइ थियो। महिलाहरू अरूको भर नपरी आफ्नै मेहनतबाट आर्थिक रूपमा सक्षम बन्न सक्ने विश्वास उनले व्यक्त गरिन्।
दुवै कार्यक्रमको अध्यक्षता गरेकी नेपाल दलित महिला उत्थान संघ (एडवान) की अध्यक्ष बिन्दु परियारले महिलालाई सशक्त बनाउनु संस्थाको मुख्य उद्देश्य रहेको बताइन्। चितवनका चारवटा पालिकामा संस्थाले काम गर्दै आएको उल्लेख गर्दै उनले सीमान्तकृत महिलालाई लक्षित गरी कृषि तालिम, वित्तीय साक्षरता तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइन्। तालिमपछि महिलालाई व्यावसायिक खेतीमा लाग्न प्रेरित गर्ने उद्देश्यले बीउ पुँजीसमेत उपलब्ध गराइएको उनले बताइन्।
महिलाहरूलाई कृषि, वित्तीय साक्षरता तथा क्षमता अभिवृद्धिमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले एडवानले विभिन्न स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्दै आएको छ। घरायसी कामसँगै उत्पादनमूलक गतिविधिमा जोडिँदै सामूहिक तथा व्यावसायिक खेतीमार्फत महिलाहरूको आर्थिक अवस्था सुधार गर्ने अपेक्षा गरिएको छ।

खैरहनी नगरपालिकामा सञ्चालित कार्यक्रमको सहजीकरण एडवानकी परिचालिका सुनिता दराईले गरेकी थिइन् भने कालिका नगरपालिका वडा नम्बर ४ मा सञ्चालित कार्यक्रमको सहजीकरण सहजकर्ता कमला पन्थी पौडेलले गरेकी थिइन्।









प्रतिकृया दिनुहोस्