काठमाडौँ– नेपाल प्रहरीले आधारभूत तहमा कार्यरत प्रहरी कर्मचारीका समस्या, गुनासा तथा कठिनाइ सुनुवाइका लागि ‘केन्द्रीय गुनासो व्यवस्थापन डेस्क’ स्थापना गरेको छ ।
प्रहरी प्रधान कार्यालयले शुक्रबार प्रहरी कर्मचारीका समस्या तथा गुनासो निष्पक्ष रूपमा सुन्न र उचित सम्बोधन गर्न उक्त डेस्क स्थापना गरेको हो ।
प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले डेस्कको शुभारम्भ गर्दै सियुजी सेवामा आबद्ध आधारभूत तहका ५४ हजार १२२ प्रहरी कर्मचारीलाई एकैसाथ गुनासो दर्ता गर्ने गुगल फर्मको लिंक पठाएका थिए ।
प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका कर्मचारीले उक्त माध्यमबाट आफ्ना समस्या, गुनासा तथा कठिनाइ दर्ता गराउन सक्नेछन् ।
प्रहरी नियमावली, २०७१ को नियम १९६ बमोजिम कार्यादेश जारी गरी स्थापना गरिएको डेस्कको मुख्य उद्देश्य प्रहरी कर्मचारीको पेसागत तथा सेवागत जीवनलाई थप सुरक्षित, सम्मानित, मर्यादित र न्यायोचित बनाउनु रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
केन्द्रीय गुनासो व्यवस्थापन डेस्कमार्फत आधारभूत तहका प्रहरी कर्मचारीका समस्या पहिचान गरी तिनको निष्पक्ष सुनुवाइ र उचित सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।










प्रतिकृया दिनुहोस्