काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सले लगातार दोस्रो हार बेहोरेपछि कप्तान सन्दीप लामिछानेले टोलीको कमजोर फिल्डिङ र धैर्यको कमीलाई पराजयको प्रमुख कारण बताएका छन्।
बिहीबार कर्णाली याक्ससँग पराजित भएपछि आयोजित पोस्ट म्याच प्रेस मिटमा कप्तान सन्दीपले ब्याटिङ र बलिङमा टोलीले उत्कृष्ट सुरुवात गरे पनि त्यसलाई अन्तिम समयसम्म कायम राख्न नसकेको स्पष्ट पारे। उनले खेलको सुरुवाती चरणमा टोलीको प्रदर्शन उत्कृष्ट रहेको र विपक्षीका चार-पाँच विकेट छिटै लिएको अवस्थामा पनि दबाबलाई निरन्तरता दिन नसकिएको बताए।
‘हामीले सात–आठ ओभरसम्म एकदम राम्रो खेलिरहेका थियौँ। टिमको मोमेन्टम पनि हामीसँगै थियो र चार–पाँच विकेट पनि लिइसकेका थियौँ। तर, इनिङ नसकिँदासम्म कायम राख्नुपर्ने धैर्य हामीले गुमायौँ,’ उनले भने।
कप्तान सन्दीपले यसपटक टोलीको सबैभन्दा ठूलो कमजोरी खराब फिल्डिङ रहेको खुलकर स्वीकार गरे। उनका अनुसार टोलीले खेलका क्रममा चारदेखि पाँचवटासम्म महत्त्वपूर्ण क्याचहरू छोडेको थियो।
विशेष गरी दोस्रो इनिङमा ओस (ड्यु फ्याक्टर) का कारण बलिङ गर्न कठिन भए पनि मैदानमा फिल्डिङ सुधार गर्न नसक्दा टोलीले त्यसको ठूलो मूल्य चुकाउनुपरेको उनको भनाइ थियो।
‘हामीले आज एकदमै कमजोर फिल्डिङ गर्यौँ। समग्रमा टिमका रूपमा चार–पाँचवटा क्याच छोड्यौँ। यस्तो अवस्थामा बलरहरूलाई मैदानमा खासै सहयोग मिल्दैन। ड्यु फ्याक्टर त थियो नै, पिचले पनि सोचेजस्तो साथ दिइरहेको थिएन। यस्तो प्रतिकूल परिस्थितिमा पनि फिल्डिङ कमजोर हुनु कुनै पनि व्यावसायिक टिमका लागि स्वीकार्य हुँदैन,’ सन्दीपले भने।
समग्रमा टोलीको ब्याटिङ र बलिङ खराब नरहेको तर राम्रो सुरुआतलाई जितमा परिणत गर्न नसकिएको उनले बताए। अघिल्लो खेलमा राम्रो ब्याटिङ गर्दागर्दै विकेट गुमाएको र यस खेलमा पनि विपक्षीलाई कमकमजोरीको फाइदा उठाउँदै खेलमा फर्किने सुनौलो अवसर दिएको उनको गुनासो थियो। कर्णालीविरुद्धको खेलमा १८७ रनको लक्ष्य प्रस्तुत गर्नु राम्रो स्कोर भए पनि सुरुवाती सफलतालाई दिगो बनाउन नसकिएको उनले उल्लेख गरे।
‘हामीले छिट्टै पाँच विकेट लिएका थियौँ, पावर प्लेमै तीन–चार विकेट निकालिसकेका थियौँ। तर त्यसपछि फिल्डिङका क्रममा १० भन्दा बढी गल्ती हुन पुग्यो, जसमा सबैभन्दा ठूलो कमजोरी खराब फिल्डिङ नै रह्यो,’ उनले थपे।
यस क्रममा उनले कर्णालीका खेलाडीहरू सोमपाल कामी, पवन सर्राफ र गुलशन झाको साझेदारी तथा अन्तिम चरणको उत्कृष्ट प्रदर्शनको खुलेर प्रशंसा गर्दै विपक्षी टोलीलाई जितको श्रेय दिए। साथै, लोकेश बमले चुनौतीपूर्ण परिस्थितिमा पनि आफ्नो क्षमतामाथि विश्वास राख्दै गरेको ब्याटिङ प्रदर्शनको उनले तारिफ गरे।
खेलको अन्तिम क्षणसम्म पनि आफूले टोलीलाई जिताउन सक्नेमा पूर्ण विश्वस्त रहेको उनले बताए। दोस्रो इनिङमा बलिङ गर्न कठिन भए पनि मैदानमा खटेर खेल जिताउने योजनाका साथ अन्तिम ओभरसम्म संघर्षरत रहेको उनको भनाइ थियो।
‘मलाई अन्तिम ओभरसम्म पनि यो खेल आफ्नो टिमको पक्षमा पार्न सक्छु भन्ने पूर्ण विश्वास थियो। खेलका अन्तिम आठ ओभर बाँकी हुँदा पनि म संघर्ष गर्न तयार थिएँ। तर, क्रिकेटमा यस्ता कठिन क्षणहरू आउँछन्, र आजको खेलले हामीलाई धेरै कुरा सिकाएको छ,’ उनले भने।
सन्दीपले हारका बाबजुद विराटनगरले समग्रमा राम्रो क्रिकेट खेलिरहेको दाबी गर्दै आगामी खेलहरूमा आफ्ना कमी-कमजोरी सुधार गर्दै बलियो पुनरागमन गर्ने स्पष्ट संकेत दिए। उनले कर्णाली याक्सलाई जितको बधाई दिँदै खेलमा एउटा टोलीले जित्ने र अर्कोले हार्ने भएकाले खेलभावना अनुसार विपक्षीको सफलतालाई सम्मान गर्नुपर्ने बताए।










प्रतिकृया दिनुहोस्