दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा व्यावसायिक सयपत्री फूलखेती सुरु गरेका छन् । तिहारमा स्थानीय फूलको माग पूरा गर्दै आम्दानी गर्ने उद्देश्यले उनीहरूले पाँच रोपनी क्षेत्रफलमा आठ हजार सयपत्रीका बिरुवा रोपेका हुन् ।
स्थानीय किसानको सामूहिक पहलमा सुरु गरिएको फूलखेतीमा तिहारलाई लक्षित गरी उत्पादनको तयारी भइरहेको छ । चाडपर्व नजिकिँदै जाँदा फूलको माग बढ्ने भएकाले उत्पादित फूलले बजार पाउने किसानको अपेक्षा छ ।
फूलखेतीमा संलग्न स्थानीय मैना राना आलेले तिहारमा पूजाआजा तथा घर सजावटका लागि स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताइन्। स्थानीयस्तरमै फूल उत्पादन गर्न सके बजारको माग पूरा हुनुका साथै किसानले आम्दानीको अवसर पाउने उनको भनाइ छ ।
उनले स्थानीय किसानबाटै फूल खरिद गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै स्थानीय उत्पादनको प्रयोग बढे बाहिरबाट फूल आयात गर्नुपर्ने बाध्यता पनि कम हुने बताइन्।
अर्की किसान सीता श्रेष्ठले आँबुखैरेनी गाउँपालिकाले फूलखेतीका लागि प्रोत्साहन गरेपछि आफूहरू यसतर्फ आकर्षित भएको बताए। तिहार नजिकिँदै गएकाले उत्पादित फूलले बजार पाउनेमा आफूहरू आशावादी रहेको उनले उल्लेख गरिन्।
गाउँपालिकाले किसानलाई फूलखेतीतर्फ आकर्षित गर्न प्रोत्साहन गर्दै आएको छ । गाउँपालिकाको कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार सयपत्री फूलको बजार सम्भावना राम्रो रहेकाले किसान यस खेतीतर्फ आकर्षित भएका हुन् ।
तिहारमा सयपत्री फूलको माग उच्च हुने भएकाले स्थानीय उत्पादन विस्तार गर्न सके किसानको आम्दानी बढाउन सकिने केसीले बताए। पाँच रोपनी क्षेत्रफलमा आठ हजार बिरुवा रोपेर सुरु गरिएको खेती सफल भए आगामी दिनमा यसको क्षेत्रफल विस्तार गर्न थप प्रोत्साहन मिल्ने उनको भनाइ छ ।










प्रतिकृया दिनुहोस्