काठमाडौं। मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसनको निर्माण सम्पन्न भएको छ। सबस्टेसनलाई कात्तिक १४ गते शनिबार र १५ गते आइतबार चार्ज गर्ने गरी आवश्यक तयारी अगाडि बढाइएको छ।
उक्त दिनहरूमा पूर्व-पश्चिम १३२ केभी प्रसारण लाइनअन्तर्गत दुहबी–दमक खण्डमा पर्ने केरौन सबस्टेसनमा लाइनलाई भित्र छिराउने (लुप इन) र बाहिर निकाल्ने (लुप आउट) कार्य गरिनेछ। दुहबी-दमक १३२ केभी प्रसारण लाइनबाट सबस्टेसनमा विद्युत आपूर्ति हुनेछ।
लुप इन र लुप आउटको कार्यका लागि दुहबी-दमक प्रसारण लाइनलाई शनिबार र आइतबार बिहान ४ बजेदेखि मध्याह्न १२ बजेसम्म बन्द गरिनेछ। जसका कारण उक्त समयमा झापा, इलाम, पाँचथर, ताप्लेजुङ जिल्लाका सम्पूर्ण भागहरू र मोरङको उर्लाबारी, पथरी आसपासका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेछ।
सबस्टेसनमा १३२/३३ केभी, ६३ एमभीएका दुईवटा र ३३/११ केभी, २२.५ एमभीएको एउटा पावर ट्रान्सफर्मर राखिएको छ। सबस्टेसनको कुल क्षमता १४८.५ एमभीए रहेको छ।
हाल उक्त क्षेत्रका लागि दुहबी–रानी–रङ्गेली ३३ केभी करिब ५० किलोमिटर लामो लाइनबाट विद्युत आपूर्ति हुँदै आएको थियो। अब सबस्टेसन सञ्चालनमा आएपछि लाइनको लम्बाइ घट्ने हुँदा भोल्टेजको समस्या हटेर विद्युत आपूर्तिमा व्यापक सुधार हुनेछ।
सबस्टेसनबाट स्थानीय रूपमा विद्युत आपूर्तिका लागि ११ केभीका ५ वटा फिडर लाइनहरू निकालिएको छ। त्यसैगरी, केरौन–रङ्गेली र केरौन–विराटचोक ३३ केभी डबल सर्किट लाइन निर्माण गरिएको छ।
आयोजना निर्माणका लागि २०७८ असारमा ठेक्का सम्झौता भएको थियो। अनुमानित लागत करिब एक अर्ब रुपैयाँ रहेको यो आयोजना नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैंक (एडिबी) को सहुलियतपूर्ण ऋणमा निर्माण गरिएको हो।










प्रतिकृया दिनुहोस्