एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहले गरेको आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
यमन सरकारले दिएको जानकारीअनुसार मृत्यु हुने र घाइते हुनेमा राष्ट्रपतिको कार्यालय परिसरमा कार्यरत सुरक्षाकर्मी तथा सर्वसाधारण कर्मचारी रहेका छन् ।
अन्तर्राष्ट्रिय मान्यताप्राप्त यमन सरकारको अस्थायी मुख्यालय रहेको अल-माशिक राष्ट्रपतिको कार्यालय परिसरमा आक्रमण भएको हो ।
यसअघि बिहीबार स्थानीय सुरक्षा अधिकारीले सिन्ह्वालाई दिएको जानकारीअनुसार उक्त परिसरमा पाँचवटा क्षेप्यास्त्र प्रहार गरिएको थियो । एडेनको अल-बुराइका क्षेत्रमा रहेको साउदी नेतृत्वको गठबन्धन सेनाको मुख्यालयलाई पनि निशाना बनाइएको थियो ।
आक्रमणका क्रममा एडेनमा ठूलो विस्फोटको आवाज सुनिएको थियो भने राष्ट्रपतिको कार्यालय आसपास धुवाँ उठेको सिन्ह्वाका घटनास्थलमा रहेका संवाददाताले जनाएका छन् ।
स्थानीय स्रोतका अनुसार हुथी समूहसँग लड्न साउदी समर्थित सरकारी सेनालाई तयार पार्ने उद्देश्यले हालै उक्त परिसरमा उच्चस्तरीय बैठकहरू भएका थिए ।
हुथी समूहका सैन्य प्रवक्ता याह्या सरियाले एडेनस्थित ‘साउदी सैन्य कारबाही मुख्यालय’ लाई निशाना बनाइएको बताएका छन् । तर, उनले उक्त मुख्यालयको ठ्याक्कै स्थान भने खुलाएका छैनन् ।
हुथी समूहद्वारा सञ्चालित अल-मसिरा टेलिभिजनले पछि एक हुथी सैन्य नेताको भनाइ उद्धृत गर्दै राष्ट्रपतिको कार्यालय परिसरभित्र साउदी अधिकारीहरूले सञ्चालन गरेको सैन्य कारबाही मुख्यालयमा भएको आक्रमणमा साउदी सैन्य अधिकारीहरू मारिएको वा घाइते भएको जनाएको छ ।
यस दाबीबारे साउदी अरब वा साउदी नेतृत्वको गठबन्धनले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।










प्रतिकृया दिनुहोस्