काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच न्युयोर्कमा शिष्टाचार भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा आयोजित साइडलाइन बैठकमा दुवै नेताबीच द्विपक्षीय हितका विषयमा छलफल भएको हो।
भेटका क्रममा नेपाल-अमेरिकाबीचको सात दशकभन्दा लामो मैत्रीपूर्ण सम्बन्धका विविध पक्षका साथै सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचारविमर्श भएको थियो। विशेष गरी हालै भोटेकोशीमा आएको भीषण बाढीका कारण पुगेको क्षति, प्रभावित क्षेत्रमा सञ्चालित राहत, उद्धार र पुनर्निर्माणका प्रयासबारे विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालमा प्राकृतिक विपद्पछिको उद्धार, राहत, पुनर्स्थापना तथा दीर्घकालीन पुनर्निर्माणका प्रयासमा अमेरिकाले निरन्तर पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने विषयमा दुवै पक्ष सहमत भएका छन् ।
भेटवार्तामा दुवै पक्षले दुई देशबीचको सहकार्यलाई अझ मजबुत बनाउँदै विपद् व्यवस्थापन, पूर्वाधार पुनर्निर्माण र जलवायु अनुकूलनका क्षेत्रमा सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।









प्रतिकृया दिनुहोस्